३० विद्युतीय बस र १५ चार्जर खरिद गर्न पुनः बोलपत्र आह्वानको तयारीमा वाग्मती प्रदेश सरकार
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/10/electronic-buss.jpg)
नुवाकोट । वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ। प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत बोलपत्र आह्वान गर्न लागेको हो।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गरी नयाँ बोलपत्र आह्वानको तयारी थालेको निर्देशक जगदीश ढुंगानाले बताए। उनका अनुसार मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार परेको लागत अनुमानभन्दा बढी रकमको बोलपत्र परेकाले रद्द गर्नुपरेको थियो।
लागत अनुमानभन्दा २९.८३ प्रतिशत बढीको प्रस्ताव बोलपत्रदाताले पेस गरेका कारण रद्द गर्नु परेको निर्देशक ढुंगानाको भनाइ छ। अब आवश्यक सबै प्रक्रिया सम्पन्न गरी दसैँ अगाडि नै बोलपत्र आह्वान गर्न मन्त्रालयसँग सहकार्य भइरहेको छ। पहिले नै आह्वान गरिएको लागत मूल्यमा ३० विद्युतीय बस र १५ चार्जर खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिने उनले जानकारी दिए।
हालै मन्त्रालयमा भएको सचिवको हेरफेरले यो काम केही दिन पर सरेकामा अब केही दिनमै बोर्डको बैठक बसेर निर्णय हुने र प्रक्रिया सुरु गरिने निर्देशक ढुंगानाले बताए।
बस सञ्चालनका लागि आवश्यक चार्जिङ स्टेशन निर्माणको प्रक्रियासमेत अघि बढाइनाका साथै मन्त्रालय र बोर्डका प्रतिनिधिले संयुक्त रूपमा विभिन्न जिल्लाको स्थलगत अवलोकन गरेका थिए। बस सञ्चालन हुने मार्गका केही स्थानमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया सुरु गरिएको छ।
बोर्डले काठमाडौंको गोंगबु बसपार्क, हेटौंडा बसपार्क, भरतपुरको पारस बसपार्क, धादिङको गजुरी, काभ्रेको धुलिखेल र नुवाकोटको बट्टार तथा विदुर बसपार्कमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया अघि बढाएको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया