राजु मास्टरको पहिलो अभिनयः चप्पल देखियो, अनुहार गायब

विदुर खबर २०७४ फागुन १० गते ९:२५

हास्य टेलिश्रृंखला मेरी बास्सैका ‘राजु मास्टर’ को वास्तविक नाम पनि राजु नै हो । थर पौडेल । मेरी बास्सैमा धुर्मुस-सुन्तली हराएपछि उनी प्रमुख पात्रका रुपमा आएका छन् र दर्शकहरुले नोटिस गर्न थालेका छन् ।

Advertisement

धेरै हास्यकलाकारले जस्तै राजुले पनि सन्तोष पन्तको तत्कालिन चर्चित सिरियल ‘हिजो आजका कुरा’ बाट आफ्नो संघर्ष यात्रा प्रारम्भ गरेका थिए । उनीसँग हामीले पहिलो अभिनयदेखि जीवनमा अन्य विभिन्न विषयमा पहिलो अनुभवबारे कुराकानी गरेका छौं ।

पहिलो अभिनयः चप्पल मात्र देखियो

Advertisement

हाँस्यकलाकार राजु माष्टर (राजु पौडेल) पाटन क्याम्पस पढ्थे । मनमा अभिनयको भूत सवार थियो । तर, कसले मौका दिने ?

नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृङ्खला ‘हिजो-आजका कुरा’ धेरै हाँस्य कलाकारको अभिनयको प्रारम्भ विन्दु थियो । राजु माष्टरले पनि त्यही बाटो रोजे ।

Advertisement

पाटन क्याम्पस पढ्दा डेरा थियो पाटनमै । साइकल चढेर धापासी हाइटमा धाउन थाले, सन्तोष पन्तको घरमा । जहाँ उनीजस्तै अरु ५०-६० जना केटाहरु बसेका हुन्थे । हरेक सोमबार सुटिङ हुन्थ्यो । सन्तोष पन्त आउँथे र टाउको गनेर बोलाउँथे । जो अगाडी छ उसैको पालो आउँथ्यो ।

तिहारको याम थियो । शहरदेखि गाउँसम्म ढकमक्क मखमली फूलेको थियो । दशै सकिएर तिहार आउँदै गर्दा मौसम आफैंमा घमाइलो हुन्थ्यो । राजु मास्टर उसैगरि साइकलको पाइडल खियाउदै धापासी हाइटमा पुगे ।

उसैगरि सन्तोष पन्त आए र टाउको गनेर बोलाए । १२ जना मध्ये राजु पनि परे । भन्छन्, ‘सात हप्ता धाएपछि मैले मौका पाएको थिएँ ।’

सुटिङमा गएपछि थाहा पाए, आफ्नो संवाद जम्मा एक शब्द रहेछ । केटाहरुले खेल्ने उरन्ठेउलो भैलोका विषयमा उक्त एपिसोड बनाईएको थियो । एक जना भट्याउथे भने राजुलगायत अरु १२ जनाले ‘भैली’ भन्थे ।

तैपनि उनी मख्ख परे । सुटिङ भयो । पोखरामा आमालाई फोन गरे । ‘आमा मैले सिरियलमा काम गरेको छु, हेर्नु है ।’ आमा पनि मख्ख । छोरा टिभीमा देखिन्छ भनेपछि उनले पनि गाउँका धेरै मान्छेलाई खबर गरिन् । घरको पिँढीमा टिभी थियो । आँगनमा मान्छे जम्मा भए ।

यता उनको कोठामा पनि साथीहरुको भिड उस्तै थियो । उनले वरपरका सबै साथीहरुलाई खबर गरेका थिए । टिभीमा हिजो-आजको कुरा आयो । सास रोकेर हेरे । तर, राजु मास्टर देखिएनन् ।’

‘उ उ म,’ राजु माष्टरले आफूले लगाएको चप्पल ठम्याए । तर, अनुहार देखिएन । खासमा ‘भैली भैली’ भन्ने दृष्यमा उनी जस्तै १२ जना थिए । तीमध्ये राजुले झुलुक्क आफ्नो चप्पल देखेर आफुलाई चिनेछन् अरुले थाहै पाएनन् ।

उनको भनाई अनुसार कलेज जानका लागि एक जोर जुत्ता थियो । अरु बेला चप्पलै लगाएर हिँड्ने गर्थे । ‘हिजो आजको कुरा’मा पनि चप्पल लगाएरै पहिलो पटक अभिनय गरेका थिए ।

पहिलो मोबाइल: पाँच दिनसम्म फोन आएन

राजु क्याम्पस पढ्दा मोबाइल बोक्ने युवाहरु बाक्लै देखिन थालेका थिए । राजुलाई पनि रहर लाग्यो र बालाई भने ‘मलाई पनि एउटा मोबाइल किन्दिनु ।’

पटक-पटक कर गरेपछि बाले ७ हजारमा नोकियाको १६ सय मोडलको सेट किनिदिए । सिम थिएन । सुरज चापागाइ ‘बान्द्रे’ले एउटा एनसेल (तत्कालिन मेरो मोबाइल) को सिम दिए ।

सिम राखेपछि पटक-पटक मोबाइल छाम्थे । नहराओस् भन्ने एउटा चिन्ता थियो भने फोन आयो कि भनेर पनि हेरिरहन्थे । पाँच दिनसम्म एक कल फोन पनि आएन । बान्द्रेलाई सिम फिर्ता दिएर एनटिसीको आफ्नै सिम हाले । त्यो पनि अरु कसैको सिम किनेका थिए उनले ।

पहिलो पारिश्रमिकः बुम समातेवापत ३ सय

मेरी बास्सैको सुटिङमा सुरुमा उनले बुम समाउने काम गर्थे । निर्देशक थिए दमन रुपाखेती । सुटिङ सकिएपछि उनैले सबैलाई पारिश्रमिक दिन्थे । पहिलोपटक दिनभरि बुम समातेवापत रुपाखेतीले उनलाई ३ सय रुपैंया दिएका थिए । पहिलो पारिश्रमिक अहिले पनि उनले जतनले राखेका छन् ।

पहिलो हवाई यात्रा : लुक्ला जाँदा सातो गयो

आकाशमा हवाइजहाज उडेको धेरै देखे पनि चढ्ने अवसर पाएका थिएनन् । पहिलो पटक लुक्ला जाने अवसर पाए । लुक्लाको बारेमा हल्का बुझे । सबैले भने, ‘नेपालको सबैभन्दा खतरनाक एयरपोर्ट त्यही हो ।’

तर, नगई सुखै थिएन । टिकट काटेर हवाईजहाजभित्र बसे । उडेपछि डर लाग्न थाल्यो । जब प्लेन लुक्लामा ल्यान्ड हुन लागेको थियो । पखेटाले पहाड छोए जस्तै देखियो । केही दिनअगाडि त्यही एअरपोर्ट छेउमा प्लेन दुर्घटना भएकाले पनि उनी आत्तिएका थिए ।

पहिलो विदेश यात्राः मलेशियामा नेपाली नै नेपाली

पहिलो पटक कार्यक्रमका लागि उनी मलेशिया गए । सोचेका थिए बिरानो ठाउँ, विरानो देश । एअरपोर्टमा पुगेपछि यसो हेरेको त जताततै नेपाली नेपाली । नेपाल हो कि मलेशिया छुट्याउनै गाह्रो भयो । अचम्म लाग्यो । कतिले सँगै फोटो खिचे । शहरमा चाहीँ चोरी निकै हुने रहेछ । आयोजकले पहिल्यै अथ्र्याएका थिए ।

पहिलोपटक मलामी : जीवनप्रति बैराग्य

पहिलो पटक आर्यघाट पुग्दा चितामा लास जलिरहेको थियो । अलि पर केही मान्छेहरु रोइरहेका थिए । कोही सम्झाउदै थिए । एकछिनपछि फेरि अर्को लास आयो । कोही रुन थाले कोही सम्झाउन । त्यो दृष्यदेखेपछि उनलाई लाग्यो ‘आखिर मान्छेहरु किन यसरी मरिहत्ते गर्छन् । आखिर एकदिन यसैगरि जानु नै छ ।’

प्रतिक्रिया