कांग्रेस महाधिवेशनको सरगर्मी : ७७ जिल्ला सभापतिका तीन सय ८८ दाबेदार
नुवाकोट । कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रको मात्रै होइन, जिल्ला नेतृत्वका लागि पनि कसरत सुरु भएको छ । जिल्ला–जिल्लामा अधिवेशनको सरगर्मी छाएको छ ।
अहिलेसम्म ७७ जिल्ला सभापतिका लागि तीन सय ८८ जनाले दाबी प्रस्तुत गरिसकेका छन् । यद्यपि, केन्द्रमा बन्ने समीकरण टुंगो लागिनसकेका कारण जिल्लामा कुन दाबेदार बलियो र कस्तो समीकरण बन्ने अझै अनिश्चित छ ।
केन्द्रीय सभापतिका आकांक्षीहरूले आफ्नो पक्षमा माहोल बनाउन आफूनिकट नेताहरूलाई जिल्ला–जिल्लामा परिचालन गरेका छन् । जिल्लामा सभापति र महाधिवेशन प्रतिनिधिमा आफ्नो पकड बढाउन उनीहरूको निर्देशन छ । तर, केन्द्रमा जस्तै जिल्लामा पनि हरेक समूहमा सभापतिका आकांक्षी धेरै छन् । हरेक जिल्लामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला समूह छन् । त्यसभित्रका उपसमूह पनि छन् ।
अहिलेसम्म जिल्ला सभापतिमा देखिएका आकांक्षीमध्ये सभापति शेरबहादुर देउवा समूहनिकट एक सय ७७ र देउवाइतरका दुई सय ११ जना छन् । महिला आकांक्षीको संख्या अत्यन्त न्यून छ । तीन सय ७७ पुरुष आकांक्षी हुँदा महिला ११ जना मात्रै छन् ।
कतिपय ठूलो भूगोल र धेरै निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा शीर्ष नेताहरूको प्रत्यक्ष चासो छ । वडा तहको अधिवेशन आउन अब १५ दिन मात्रै छ । जसका कारण शीर्ष नेताहरू वडादेखि नै आफ्नो पक्षमा धेरै प्रतिनिधि चयन गराउने रणनीतिमा छन् ।
सभापतिमा दोहोर्याउने आकांक्षा देखाएका सभापति देउवाले महाधिवेशनको मिति टुंगो लागेलगत्तै असार पहिलो साता नै आफूनिकटका पदाधिकारी र केन्द्रीय सदस्यसँग छलफल गरेर प्रदेशगत रूपमा आफ्नो समूहको अवस्थाबारे जानकारी लिँदै बढीभन्दा बढी जिल्ला र महाधिवेशन प्रतिनिधि ल्याउन निर्देशन दिएका थिए ।
वरिष्ठ नेता पौडेलले पनि आफ्नो समूहका पदाधिकारी र केन्द्रीय सदस्यसँग छलफल गरेर आफ्नो पक्षमा धेरै जिल्ला सभापति र महाधिवेशन प्रतिनिधि निर्वाचित हुने अवस्था सिर्जना गर्न जोड दिनुपर्ने भनेका छन् । मझधारमा रहेको सिटौलाले पनि आफूनिकटलाई धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि आउने वातावरण तयार गर्न भनेका छन् ।
१३औँ महाधिवेशनमा परम्परागत दुई गुटलाई तोडेर तेस्रो धारको नेतृत्व गर्दै उदाएका सिटौला तल्लो तहमा भने दुवैतिर मिसिएका छन् । तल्ला तहसम्म लड्दा एक्लै चुनाव नजित्ने भएपछि सिटौलाले जता मिल्दा सहज हुन्छ, त्यतै मिलेर अघि बढ्ने रणनीतिमा कार्यकर्ता परिचालन गरेका छन् ।
यसपटक देउवा र पौडेल समूहमा पनि जिल्ला र महाधिवेशन प्रतिनिधिको संख्या बढाउन समूहगत प्रतिस्पर्धा मात्रै छैन, नेताहरूका आ–आफ्नै चासो र स्वार्थ छन् । आफ्नै समूहका विमलेन्द्र निधिले सभापतिमा चुनौती दिएपछि देउवाले पर्न सक्ने नोक्सानीलाई समेत ध्यान राखेर प्रतिनिधि चयन गर्न निर्देशन दिएका छन् । ‘निधिले विद्रोह गरेर उम्मेदवारी दिए पनि टिमलाई क्षति नहुने गरी जिल्लासम्मको अधिवेशन गराउनुपर्छ भन्ने उहाँ (देउवा) को निर्देशन छ,’ उनीनिकट एक नेताले भने ।
पौडेल समूहमा पनि पौडेल मात्रै आकांक्षी छैनन्, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र रामशरण महत, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, सुजाता कोइराला र कल्याणकुमार गुरुङसम्मले सभापतिमा दाबी गरिरहेका छन् । आकांक्षीहरूका बीच आफ्नो पक्षमा माहोल बढाउने र त्यसका आधारमा बार्गेनिङ गर्ने होड पनि चलेको छ । जिल्ला अधिवेशनपछिको बलका आधारमा महाधिवेशनमा नयाँ समीकरण बन्ने नेताहरूले बताइरहेका छन् ।
देउवाइतर समूहबाट एक मात्रै उम्मेदवार बनाउनुपर्ने भन्दै शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको सभापतिका आकांक्षीहरूको बैठकले वडादेखि जिल्ला तहसम्मको अधिवेशनपछि थप सल्लाह गरेर उम्मेदवारीको टुंगो लगाउनुपर्ने निष्कर्ष निकालेको छ । पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको संयोजनमा सभापतिका आकांक्षीले पहिलो छलफल गरेका हुन् । छलफलमा सभापतिका आकांक्षी देउवा र निधिबाहेक सबै नेता सहभागी थिए ।
एक नेताका अनुसार केन्द्रमा धेरै आकांक्षी हुँदाको असर तल्ला तहमा पर्न सक्ने भएकाले सबै आकांक्षीले एक ठाउँमा छलफल गरेर एकताको सन्देश दिने कोसिस गरेका हुन् ।
नेताहरूबीच अहिले तल्ला तहको अधिवेशन हुँदासम्म समूहलाई जिताएर अघि बढ्ने र पछि महाधिवेशन प्रतिनिधिको संख्या र चाहना हेरेर सहमतिका आधारमा अघि बढ्नेबारे छलफल गरेका छन् । आकांक्षी नेताहरूले छुट्टाछुट्टै भेटघाट र कोठे छलफलबाट पनि महाधिवेशन केन्द्रित रणनीति बनाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया