दुप्चेश्वर, ताँदी र पञ्चकन्यावासीले बुद्धभूमिको १ लाख ६० हजार कित्ता सेयर पाउने

विदुर खबर २०७८ भदौ १४ गते ८:३४

नुवाकोट । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले १ लाख ६० हजार कित्ता सेयर पाउने भएका छन् ।

Advertisement

 

कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपीओ निष्कासन गरेकामा प्रत्यक्ष असर व्यहोर्नुपर्ने स्थानीयवासीले विशेष कोटा निर्धारणको माग गर्दै दिएका दबाब र सङ्घर्षपश्चात् कम्पनी शेयर उपलब्ध गराउन शुक्रबार सहमत भएको हो ।

Advertisement

 

दुप्चेश्वर, ताँदी र पञ्चकन्या गाउँपालिकाका बासिन्दाले १ लाख ६० हजार कित्ता शेयर पाउने भएपछि विरोधका कार्यक्रम स्थगित गरेका छन् ।४.९ मेगावाट क्षमताको परियोजनाबाट दुप्चेश्वर–५ र ६ वडा, तादी– ४ र पञ्चकन्या– ४ का जनतालाई असर पर्ने देखिएको छ ।

Advertisement

 

ती गाउँपालिकाका जनप्रतिनिधि, असर पुग्ने बासिन्दा र परियोजना पदाधिकारी सम्मिलित बैठकमा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले प्रमोटर सेयरका रुपमा प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ६० हजार कित्ता सेयर दिन लिखित सहमति जनाएका थिए ।

 

सहमति पछि ११ सदस्य ‘सहजीकरण समिति’ समेत गठन गरिएको छ । यस समितिले अति असर पर्ने दुप्चेश्वर–५ र ६ तादी–४ र पञ्चकन्या–४ का बासिन्दाका लागि ६० प्रतिशत र तीन पालिकाको बाँकी १४ वटा वडाको बासिन्दाका लागि ४० प्रतिशतका दरले सेयर वितरण सुनिश्चित गर्ने गरेर कार्य अघि बढाएको छ ।

 

एकै कम्पनीको दोहोरो सेयर भर्न नपाइने भएकाले हाल निष्कासन गरिएको आइपीओ उनीहरूलाई नभर्न आग्रह गरिएको ताँदीका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया