बुद्धभुमि हाईड्रोपावरको सेयर मंगलवारसम्म भर्न पाइने
नुवाकोट । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ मंगलवारसम्म भर्न पाइने भएको छ ।
सरकारले सोमवार सार्वजनिक विदा दिएसँगै आईपीयो भर्ने समय एकदिन थपिएको हो । सार्वजनिक विदाको दिन आईपीयो बन्द नहुने प्रावधान रहेको हुँदा हाईड्रोपावरको आईपीयो मंगलवारसम्म भर्न पाइने बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो । आईपीओमा शनिवार अर्थात भदौ १२ सम्ममा २१ हजार ६ सय ४६ जना आवेदकहरुबाट १५ लाख ४८ हजार ७५ कित्ताका लागि आबेदन माग भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।
कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । हालसम्म निष्काशित शेयरको ३८३ प्रतिशत बराबरको शेयर विक्रि भइसकेकोछ ।
आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । यस्तै छिटोमा भदौ १५ गते सम्ममा र ढिलोमा भदौ २९ गतेसम्ममा आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीको आईपोओमा ज्योति विकास बैंक लिमिटेडको (बट्टार, छहरे, देउराली, रानीपौवा, महादेभफाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग) शाखा, प्रभु बैंक लिमिटेडको (बट्टार, महादेभफाँट नुवाकोट) शाखा तथा सिभिल र्बैक लिमिटेडको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
आयोजनाको ९८ प्रतिशत काम पुरा
निर्माणाधीन ५ मेगावाटको जलविद्युत आयोजनाको काम ९८ प्रतिशत पूरा भएको छ ।
आयोजनाको सिभिल संरचनाको काम सम्पन्न भएको कम्पनीका सचिव शुक्रराज ढंगोलले बताए । उनका अनुसार बाँध, पेनस्टक पाईपालाइन र विद्युतगृहको सिभिल संरचनाको काम सम्पन्न भएको छ ।
‘आयोजनाको हाइड्रोमेकानिकल उपकरण जडानको काम सकिएको छ,’ उनले भने, ‘इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पनि अन्तिम चरणमा पुगगेको छ, बाँकी भदौभित्र पूरा गरिनेछ ।’ आयोजनाको बाँकी २ प्रतिशत काम पूरा गरेर आगामी असोजभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको ढंगोलले बताए ।
आयोजनाबाट उत्पादन भएको विद्युत ३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको त्रिशुली ३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।
प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । लाइनको टावर ठड्याउने काम सकिएको छ । तार तान्ने काम आधाभन्दा बढी पूरा भएको छ । आयोजना सम्पन्न गर्न १ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा माछापुच्छ्रे, बैंक अफ काठमाडौं, एनसीसी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।
तादी बेसिनमा योे आयोजनासँगै थप २५ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । निजी क्षेत्रले अनुमतिपत्र लिएर स्वदेशी लगानीमा ३ देखि ११ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण अघि बढेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया