प्रचण्डले भने: ७० वर्ष पुग्‍न लागियो, अब पार्टी नेतृत्वबाट बिदा हुने इच्छा छ

विदुर खबर २०७८ भदौ १२ गते १९:४७

नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पार्टी नेतृत्वको भूमिकाबाट बिदा हुने इच्छा व्यक्त गरेका छन् ।

Advertisement

उमेरका हिसावले आफू ७० वर्षको नजिक पुगिसकेकाले पनि अब युवाहरुलाई पार्टीको नेतृत्व लिन आग्रह गरे । शनिबार माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“उमेरका हिसावले हामी ७० वर्ष आसपासमा छौँ । संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षालाई अघि बढाउने जिम्मा अब तपाइँहरुको हो। तर तपाइँहरु नेतृत्व लिन तयार नभएसम्म छाड्न मिल्दैन” प्रचण्डले भनेका छन् । प्रचण्डले अब पार्टीको भूमिकाबाट बिदा भएर संस्मरण लेख्ने इच्छा रहेको समेत बताएका थिए ।

Advertisement

साथै पार्टीको नेतृत्वबाट बिदा भएर भिन्न भूमिकामा बस्ने इच्छा भएको उनले बताएका थिए । साथै सत्तारुढ गठबन्धन संविधानको रक्षा, राष्ट्रियता र लोकतन्त्र सुदृढिकरणका लागि बनेको बताएका थिए । साथै गठबन्धनलाई बचाइराख्नुपर्ने पनि उनको भनाइ थियो ।

यस्तै एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै निरकुंशता र प्रतिगमनकारी शक्तिलाई परास्त गरेरै मुलुक नयाँ मोडबाट अघि बढेको बताए । तर अझै पनि प्रतिक्रियावादी शक्तिहरुले यो गठबन्धनलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको उनको भनाइ थियो । ‘प्रधानमन्त्री पदका लागि ओलीले ठगी धन्धा गरेको समेत उनले आरोप लगाए ।

Advertisement

उनले भने ‘दुई वर्षमा सरकारको जिम्मेवारी मलाई दिने भने तर दिएनन् । तमसुकमा सही हस्ताक्षर गराए तर कार्यान्वयन गरेनन्’ उनले भने ।

यस्तै केपी ओलीसँग पार्टी एकता गरेर आफूले नयाँ ज्ञान प्राप्त गरेको समेत उनको भनाइ थियो ।  ओलीले संसद विघटन गरेर संविधान र लोकतन्त्रको लागि घात गरेको समेत उनले बताएका थिए ।

प्रतिक्रिया