नुवाकोटको गाउँमा गुम भयो घुम, उघारियो छाता

विदुर खबर २०७५ साउन २७ गते १०:१२

Advertisement

शालिकराम चालिसे, नुवाकोट , बर्खामा गाउँघरमा घुम ओडेर मेलापात जाने चलन केही अघिसम्म पनि प्रचलनमा थियो । तर अहिले घुमको ठाउँ छाताले लिएको छ ।

मेलापात र हाटबजारमा समेत घुम ओड्ने चलन हराउँदो छ । बुडापाकाले मेलापात जाँदा घुम ओढ्ने चलन अहिले सम्झना मात्र बनेको छ । घुम ओढेर मेलापात गएको दिन अहिले सम्झना मात्र भएको बताउँदै गेर्खुका दातारामा प्याकुरेलले भनेु अहिले ती दिन सम्झना मात्र रहे । छाता नै सजिलो भयो सबैले त्यही ओड्छन । भोर्लाको पात मोहोरेर बाँसको चित्रामा घुम बनाउने सीप आँफूले सिकेको बताउँदै उनले भने अहिले यसको प्रचलन नै हराई सकेको छ ।

Advertisement

घुम अहिले ओढ्ने मात्र होइन हराउनै थालेको छ । उमेरदार र तन्नेरीहरको रोजाई नयाँ फेसेनवल छाता नै बनेको छ । विभिन्न रंग र आकारमा उपलब्ध छाता आफ्नो पहिलो रोजाई भएको बताउँदै वेलकोटगढी नगरपालिकाकी उमा रेग्मीले भनिन गर्मी छल्न र बर्षामा पानीबाट बच्न पनि छाता नै सजिलो भएको छ । उनले अहिलेसम्म घुम नओढेको बताइन् । हजुरआमाहरुले कुरा गरेको भने सुनेकी छु । प्लस टुकी यी छात्रा अहिले घुम ओढ्ने चलन नभएको बताउँछिन् । अहिले गर्मीको समयमा छाता ओढेर हंडेका दृष्य बाक्लै देखिन्छ । कतिपयले हार्मफुल सनरेजबाट जोगाउन पनि छाता सहयोगी हुने बताउँछन् । बट्टार क्याम्पसका छात्र दिपेन्द्र तिमल्सेनाले भनेु घामपानीबाट जोगाउन छाता महत्वपूर्ण वस्तु हो । उनले युवापुस्तामा छाता निकै लोकप्रिय रहेको बताए ।

एकघना बाँसबाट दुइवटासम्म घुम बनाउन सकिन्छ । बाँसलाई चिरेर चोया काटेपछि त्यसलाई टुप्पाबाट मोहोर्दै भोर्लाको पात राखेर घुम तयार गरिन्छ । नारायणी तिवारीले भनिनु खै अब त कता गए भोर्ला कता गए घुम । उनले अहिले भोर्लाको पात देख्न नपाएको बताइन् । भोर्लाको पातले बन्ने घुम दुई बर्षसम्म नबिग्रने तिवारी बताउँछिन् । तर अहिले उनको रोजाई समेत छाता नै भएको छ । सहरिया युवापूस्ताले छातालाई सहज साधन मान्ने गरेका छन् । स्कुल कलेज बजार कन्सर्ट आदि सबै ठाउँमा जाँदा छाता पहिलो रोजाई बन्छ । युवतीहरु पोसाक सुहाँदो छाता नै रोज्न मनपराउँछन् । अस्मिता प्याकुरेल भन्छिन गर्मीमा छाता बिनाको हिंडाई त कल्पना बाहिरको कुरा हो मलाई रंगीन र बुट्टेदार छाता ओढ्न मन पर्छ ।

Advertisement

नेपालमा भारतमा निर्मित छाता पाइने भएपनि देशका अधिकांश भागमा चिनमा निर्मीत छाता कै बर्चस्व छ । एकसय रुपैयाँमा पाईने छाता अहिलेका पुस्ताको पहिलो रोजाई नै भएको छ । तर सुस्त गतिमा हराउँदो अवस्थामा रहेको घुम ओढ्ने चलनले युवालाई भने समेट्न सकेको छैन् । परम्परागत ज्ञानको लोप भएमा समुदायले मात्र हानी व्यहोर्ने नभई पुरै देशले क्षति व्यहोर्ने निश्चित छ । हाम्रा छरपष्ट रहेका परम्परागत कला, संकृति, मौलिक सिर्जना र प्रविधिको रक्षा गर्नु हामी सबैको साझा दायित्व हो । यसको रक्षा गर्नु हाम्रो कर्तव्य पनि हो ।

प्रतिक्रिया