नेपालमा कोरोनाको पूर्ण खोप लगाउने अनुपात भारतभन्दा बढी
नुवाकोट । नेपालमा कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाउनेको अनुपात भारतभन्दा बढी देखिएको छ । नेपालमा हरेक सय जनामध्ये झन्डै १६ जनाले पूर्ण डोज खोप लिएका छन् । भारतमा भने हरेक सय जनामा पूर्ण डोज लिनेको संख्या करिब ९ जना छ ।
एक डोज लगाउने भने नेपालको दाँजोमा भारतमा करिब दोब्बर छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्व एसिया कार्यालयका अनुसार भारतमा पूर्ण डोज खोप लगाएकाहरू सयमा ८.७९ जना छन् ।
दुवै देशमा खोप सुनिश्चितता उस्तैउस्तै देखिएकाले भारतमा देखिन सक्ने तेस्रो लहरभन्दा नेपालको अवस्था फरक नहुने विज्ञहरूले आकलन गरेका छन् । ‘खोप कार्यक्रमलाई द्रुत गतिमा विस्तार गरी भारतलाई पछ्याउनुको विकल्प छैन,’ कोरोना खोप समन्वय समितिका सदस्य डा. जीडी ठाकुरले भने, ‘सरकारले दसैं–तिहारसम्म कम्तीमा एकतिहाइ जनसंख्यालाई पहिलो डोज सुनिश्चित गरे सम्भावित तेस्रो लहरबाट बच्न सकिन्छ ।’
सरकारले असोजसम्म १८ वर्षमाथिका लक्षित जनसंख्याको एकतिहाइ र चैतसम्म १२ वर्षमाथिको सम्पूर्ण जनसंख्यालाई खोप लगाउने रणनीति लिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार १८ वर्षमाथिका एकतिहाइ जनसंख्या अर्थात् २ करोड १७ लाख लक्षित समूहमध्ये बिहीबारसम्म २८.२८ प्रतिशतले एक डोज खोप लगाएका छन् ।
भारतले आफैं खोप उत्पादन गर्ने भए पनि नेपालले अनुदान वा खरिद गर्नुपर्ने अवस्था छ । अन्य मुलुकमा निर्भर रहनुपर्ने जोखिमलाई हटाउँदा र वाचा गरिएअनुसार सबै मुलुकबाट खोप आए नेपालले भारतको तुलनामा बढी अनुपातमा खोप लगाइसक्ने डा. अधिकारीले दाबी गरे ।
डब्लूएचओ दक्षिणपूर्व एसिया कार्यालयका अनुसार नेपालले करिब ७० प्रतिशत स्वास्थ्यकर्मी, फ्रन्टलाइनर र ज्येष्ठ नागरिकलाई पहिलो डोज लगाइसकेको छ । पछिल्लो २४ घण्टामा ९१ हजार ११ जनाले खोप लगाएका छन् । बिहीबारसम्म अक्सफोर्ड–अस्ट्राजेनेकाको पहिलो डोज १९ लाख १५ हजार ५ सय १० र दुवै डोज ९ लाख ८२ हजार ८ सय ६० जनाले लगाइसकेका छन् । यस्तै, भेरोसेलको पहिलो डोज २९ लाख ५ हजार ४ सय ७५ र दुवै डोज १४ लाख ५ हजार ७ सय ८९ जनाले लगाएका छन् । जोन्सन एन्ड जोन्सनको एक डोज मात्र लगाउनुपर्ने खोप १३ लाख २० हजार ३९ जनाले लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच, जापानले नेपाललाई अनुदान सहयोग गरेको १६ लाख अस्ट्राजेनेका खोपमध्ये बाँकी ८ लाख डोज ४ दिनभित्र आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गर्दै बाँकी खोप शनिबार र सोमबार आउने जनाएको हो । जापान सरकारले १६ लाख १४ हजार ७ सय ४० डोज खोप सहयोग गरेको हो । त्यसमध्ये आधा खोप साउन २३ र २४ मा काठमाडौं आइपुगेको थियो । नेपालका लागि जापानी राजदूत किकुता युताकाले खोप सहयोग दुई मुलुकबीचको मित्रताको विम्ब भएको बताएका छन् । जापानले उक्त खोप कोभ्यासको सुविधाअन्तर्गत उपलब्ध गराएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया