अण्डाको मूल्य झण्डै दोब्बरले वृद्धि, उपभोत्ता मर्कामा
नुवाकोट । उत्पादकहरुले एकलौटी मूल्य निर्धारण गरेपछि उपभोक्ताहरु अण्डाको मूल्यमा ठगिन पुगेका छन् । दुई महिनाको अवधिमा अण्डाको उपभोक्ता मूल्य झण्डै दोब्बरले वृद्धि भएको छ तर मूल्य बढ्नुको कारणबारे सरकार र नियामक निकाय मौन छन् ।
२० दिनअघि प्रतिगोटा १२ रुपैयाँमा बिक्री भइरहेको अण्डाको मूल्य अहिले खुद्रा बजारमा २० रुपैयाँ पुगेको छ । कुखुराको अण्डाको मूल्य हालसम्मकै उच्च भएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । तीन साताअघि प्रतिक्रेट ३६५ रुपैयाँमा कारोबार भएको अण्डाको मूल्य अहिले ४२० रुपैयाँ पुगेको संघका अध्यक्ष शिवराम केसीले बताए ।
सवारी साधन सहज उपलब्ध भएको ठाउँमा प्रतिगोटा १६ रुपैयाँसम्म अण्डाको खरिद बिक्री हुनपर्ने भए पनि २० रुपैयाँसम्ममा कारोबार भएको पाइएको उनले बताए । कोरोनाका कारण विगतमा भन्दा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको उनले बताए ।
‘कोरोनाका कारण पौष्टिक आहार बढाउन उपभोक्ताले अण्डाको खपत बढाएको र यहीबेला लागत पनि बढ्दा मूल्य उच्च भएको छ,’ अध्यक्ष केसीले भने । अण्डा उत्पादनका लागि गरिने लगानीको ७५ प्रतिशत हिस्सा दानामा खर्च हुने र दानाको भाउ बढेर छोइनसक्नु भएको उनको दाबी छ ।
अण्डाको संघले तोकेको मूल्य भन्दा पाँच रुपैयाँ कम रकम किसानले पाउने भएकाले मूल्य बढेर किसानलाई फाइदा पुगेको संघको दाबी छ । तर दानाको मूल्यकै कारण अण्डाको मूल्य बढेको कुरा झुट भएको नेपाल दाना उद्योग संघले जनाएको छ । पछिल्लो तीन महिना अवधिमा अण्डाको भाउलाई असर गर्नेगरी दानाको मूल्य नबढेको संघका वरिष्ठ उपाध्यक्ष शंकरप्रसाद कँडेलले बताए ।
नेपाल खुद्रा व्यापार संघका अनुसार काठमाडौं उपत्यका वितरकले एक महिनामा अण्डाको मूल्य एक बाक्सामा ८ सय रुपैयाँसम्मले बढाएका छन् । एक महिनाअघि ठूलो अण्डा प्रतिबाक्सा दुई हजार पाँच सय रुपैयाँमा बिक्री हुने गरेकोमा अहिले कम्तिमा तीन हजार ५० रुपैयाँदेखि ३३ सय रुपैयाँसम्म पुगेको अण्डा व्यवसायी कबिन्द्र श्रेष्ठले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया