धादिङका जनप्रतिनिधिको रवाफ : गाउँपरिषदमा जान हेलिकप्टर चार्टर
समयमा गाउँपरिषद् गर्न नसकेको धादिङको रुबीभ्याली गाउँपालिकाले काठमाडौंमा रहेका जनप्रतिनिधि र स्थानीय नेताहरूलाई परिषद्मा सहभागी हुन धमाधम हेलिकप्टरमार्फत सेर्तुङ पुर्याएको छ ।
असार १० मै गर्नुपर्ने गाउँपरिषद् विवादका कारण हुन नसकेपछि असार २८ मा सारिएको थियो । उपभोक्ता समितिहरूले हरेक योजनाबाट ३ प्रतिशत प्रशासनिक खर्चबापत काट्नुपर्नेमा ८–१० प्रतिशत रकम माग गरेपछि विवाद चर्किएको हो । उक्त मितिमा पनि हुन नसकेपछि असार ३० मा सबै कर्मचारीमा कोरोना संक्रमण भएको र आन्तरिक तयारी नपुगेको भन्दै सूचना टाँसेर साउन २० का लागि परिषद् डाकिएको थियो ।
गत साउन १३ मा पुनः सूचना प्रकाशन गर्दै गाउँपालिकाले काठमाडौंमा रहेका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्थानीय राजनीतिक दलका कार्यकर्तालाई आइतबारदेखि नै हेलिकप्टरमार्फत सेर्तुङ ओसार्न थालेको हो । सदरमुकाम धादिङबेंसीमा रहेका केही वडाध्यक्ष र सदस्यहरू हेलिकप्टर चढ्नकै लागि काठमाडौं पुगेका थिए ।
आइतबार गाउँपालिका अध्यक्ष चेरुङ तामाङ, उपाध्यक्ष बिना लामा, प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, लेखापाल बाबुराम नेगी, इन्जिनियर सुदीप रेग्मी, कर्मचारी दिलीप घले हेलिकप्टरबाट सेर्तुङ पुगेका थिए । सोमबार र मंगलबार पनि वडाध्यक्ष, सदस्य तथा अन्य कर्मचारीहरू पनि उसैगरी सेर्तुङ पुगेका छन् ।
रुबीभ्याली–२ का अध्यक्ष पेम्बा घलेले भने व्यक्तिगत खर्चमै हेलिकप्टर चार्टर गरेको दाबी गरे । ‘पालिका प्रमुखहरू पनि आफ्नै खर्चमा हेलिकप्टरबाट सेर्तुङ आइपुग्नु भएको हो,’ घलेले भने, ‘सोमबार हामी वडाध्यक्षहरू पनि आफ्नै खर्चमा आएका हौं ।’ फिस्टेल एयरको हेलिकप्टरमा काठमाडौंबाट सेर्तु पुग्न प्रतिव्यक्ति १ लाख २० हजार रुपैयाँ भाडा लिइएको स्रोतले बतायो ।
बर्खा लागेसँगै रुबीभ्याली जाने धादिङबेंसी–डुन्डुरे खोला र स्याफ्रुबेंसी–सोम्दाङ खण्ड क्षतविक्षत छन् । डुन्डुरे खोला र सोम्दाङबाट सेर्तुङ पुग्न हिँडेर ४ घण्टासम्म लाग्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया