बिहीबारदेखि दैनिक ६७ वटा आन्तरिक उडान हुँदै
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/07/plane.jpg)
नुवाकोट । नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीबारदेखि सञ्चालन हुँदैछ ।
मन्त्रिपरिषद्को असार ७ को आदेश अनुसार, नागरिक उड्डयन प्राधिकरणले बुधबार आन्तरिक उडानका लागि चारवटा वायुसेवाको तालिका स्विकृत गरेका छ ।
प्राधिकरणले हाललाई जुलाई महिनाभर (असार १७ देखि साउन १६ सम्म) का लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्विकृत गरेको जनाएको छ । यी उडान बिहान साढे ६ बजेबाट सुरु भई बेलुकी ६ बजेसम्मका लागि हुनेछन् ।
प्राधिकरणको उडान अनुमती शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ । पहिलो चरणमा यी चारवटा वायुसेवाले काठमाडौंबाट धनगढी, नेपालगन्ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनरगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन् ।
स्विकृत तालिका अनुसार, काठमाडौंबाट दैनिक विराटनगरका लागि १०, भैरहवाका लागि ९, नेपालगन्ज र भद्रपुरका लागि ७/७, जनकपुर र सिमराका लागि ६/६, पोखराका लागि ५ र धनगढी ४ उडान हुनेछन् ।
त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुर लगायत दुर्गम भेगका लागि दैनिक ८ वटा उडान हुने छन् । सुर्खेत, नेपालगन्ज, पोखरा र विराटनगर विमानस्थलबाट साना जहाजले गर्ने ती क्षेत्रका पहाडी तथा हिमाली भेगका लागि उडान अनुमति बिहीबार टुंगो लाग्ने भनिएको छ । ‘दुर्गम भेगका उडान गर्ने सिता, तारा र समिट एयरले अनुमति माग गरिसकेका छन, बिहीबार बिहान टुंगो लाग्ने छ,’ उप–प्रबन्धक भुलले कान्तिपुरसँग भने ।
यात्रुको माग अनुसार अहिले स्विकृत उडान तालिकालाई विश्लेषण गरी फेरबल गरिने तर ५० प्रतिशत भन्दा बढी नध्नेगरी उडान अनुमति कायमै राखिने प्राधिकरणले जनाएको छ । एक निजी वायुसेवाका अधिकारीका अनुसार, कोभिड संक्रमण फैलिन सक्ने भएकाले प्रत्येक उडानलाई १५ मिनेटको अन्तर राखेर उड्ने अनुमति दिइने भनिएको छ ।
त्यसैगरी स्वास्थ्य मापदण्ड अनुसार, यात्रुको भीड कम गर्ने उद्देश्यले काठमाडौं बाहिरका विमानस्थलमा पनि एकैपटक दुई वा बढी वायुसेवालाई जान दिइने छैन । विमानस्थलको र्यामबसमा यात्रुले सामाजिक दुरी कायम गरेर बस्नुपर्ने छ तर जहाजमा भने वायुसेवालाई सबै सिटमा यात्रु राखेर उडान अनुमति दिइएको छ ।
प्राधिकरणले यदि कुनै जिल्लामा कोरोना संक्रमणको दर बढेर निषेधाज्ञा लागू हुनसक्ने भएमा ती जिल्लामा रहने डीसीसीएमसीसँग समन्वय गर्न, यात्रुलाई विमानस्थलसम्म ल्याउन, पुर्याउन वा टिकट रद्ध गर्न सहजिकरण गर्न सम्बन्धित वायुसेवालाई नै भनेको छ । यो पटकको उडानमा पनि यात्रुले अनिवार्य मास्क, भाइजरका साथ यात्रा गर्नु पर्ने छ ।
विमानस्थलमा कर्मचारीले अनिवार्य ज्वरो नाप्ने छन् । कम्पनीहरुले उडानमा शौचालय र खानपानमा रोक नै लगाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया