नेपालको संक्रमण दर भारतको भन्दा सात गुणा बढी
नुवाकोट । भारतभन्दा नेपालमा सात गुणा बढी कोरोना संक्रमण दर रहेकाले भारतीय रणनीति हेरेर यहाँ संक्रमण रोकथाम र नियन्त्रण गर्न नसकिने विज्ञहरूले बताएका छन् ।
भारतमा कोरोनाविरुद्धको खोप धेरैले लगाइसकेकाले पनि जोखिमको अवस्था उस्तै नरहेको उनीहरूको भनाइ छ । विगतमा भारतमा देखिएको संक्रमणको अवस्था, प्रभाव र जटिलताका आधारमा नेपालमा रणनीति बनाउने गरिए पनि अब त्यसो गर्न उचित नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले बताए ।
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार त्यहाँ कोभिडको संक्रमण दर २.९४ प्रतिशत देखिएको छ । त्यहाँ संक्रमित निको हुने दर ९६.८० प्रतिशत छ । नेपालमा भने सोमबार पीसीआर परीक्षणको संक्रमण दर २२.६९ प्रतिशत छ । संक्रमित निको हुने दर ९२.६ प्रतिशत छ । एक सातायता नेपालमा संक्रमण दर २० प्रतिशत हाराहारी छ । भारतमा भने यो साताको पोजिटिभिटी दर २.८१ प्रतिशत देखिएको छ ।
भारतले २० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ । खोप लगाउने काममा अमेरिकालाई जितेको भारतीय दाबी छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ ३२ करोड ३६ लाख ६३ हजार २ सय ९७ मात्रा खोप लगाइसकेका छन् ।
अमेरिकामा भने ३२ करोड ३३ लाख २७ हजार ३ सय २८ मात्रा खोप लगाइएको छ । गत आइतबार २४ घण्टामा भारतमा ६४.२५ लाख मात्रा खोप दिइएको थियो । ‘स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य डा. जीडी ठाकुरले भने, ‘भारतमा देखिएको त्यो सकारात्मक अवस्थाले हामीलाई राहत हुने देखिँदैन । नेपालमा बहुसंख्यकले खोप नलगाएकाले ठूलो क्षति हुन सक्छ ।’
नेपालको सीमावर्ती भारतीय राज्यमा समेत कोभिडविरुद्धको खोप युद्धस्तरमा लगाइँदै छ । परिवार स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार सोमबारसम्म बिहार राज्यमा १ करोड ३५ लाख ७३ हजार १ सय २८ जनालाई एक मात्रा र २१ लाख ८२ हजार ३२ जनालाई दुई मात्रा गरी खोप दिइएको छ ।
यस्तै उत्तर प्रदेशमा २ करोड ६१ लाख ५४ हजार १ सय ८२ जनालाई एक मात्रा र ४३ लाख २५ हजार २ सय ४५ लाई दुवै मात्रा खोप लगाइएको छ । पश्चिम बंगालमा भने १ करोड ६३ लाख ८२ हजार ७ सय १६ जनालाई पहिलो मात्रा र ४७ लाख ४६ हजार १ सय ८२ जनालाई दुवै मात्रा खोप लगाइएको छ ।
‘भारतमा खोपको माध्यमले प्रतिरोधक क्षमता हासिल गर्नेको संख्या बढिरहेको छ,’ डा. ठाकुरले भने, ‘भारतकै गतिमा यहाँ खोप सुनिश्चितता नभएकाले उस्तै रणनीति पछ्याउनु हुन्न ।’
वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले कोभिडको अवस्था भारतकै अनुपातमा नेपालमा नदेखिने बताए । ‘पहिले भारतमा संक्रमण बढ्दा नेपालमा समेत बढ्ने र घट्दा यहाँसमेत घट्ने अवस्था थियो तर अब यस्तो नहुन सक्छ,’ उनले भने ।
उनले भारतका नागरिक खोपले गर्दा कोभिडविरुद्ध उच्च सुरक्षा स्तरमा गइरहेको र त्यहाँ छिटै अवस्था सहज हुन सक्ने भने । नेपालमा सोमबारसम्म २५ लाख ८७ हजार ८ सय ७३ जनाले पहिलो मात्रा र ७ लाख ५२ हजार १ सय १० जनाले दुवै मात्रा खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले संक्रमण नियन्त्रणका लागि अब नेपालले फरक रणनीति बनाउनुपर्छ,’ उनले भने ।
कान्तिपुर दैनिकबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया