मेलम्चीमा बाढीको बितन्डा (फोटो फिचर)
नुवाकोट । ह्योल्मोभूमि हेलम्बु हुँदै मंगलबार आएको बाढीले इन्द्रावती, मेलम्चीलगायतका करिडोर क्षेत्रमा ठूलो क्षति पुर्याएको अनुमान गरिएको छ ।
दिउँसोदेखिको अविरल वर्षाका कारण मेलम्चीको बाढीले हेलम्बु गाउँपालिकाको किउलमा रहेको ट्राउट फार्म, रिसोर्टमा क्षति पुर्याएको छ । त्यहाँ काम गर्ने केहीलाई बगाएर बेपत्ता बनाएको आशंका गरिएको प्रहरीले जनाएको छ । बाढीले केही जनालाई बेपत्ता बनाएको अपुष्ट खबर आए पनि मंगलबार अबेर रातिसम्म यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
डीएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बुदेखि मेलम्ची बजार क्षेत्रभन्दा तल्ला भेगसम्मका स्थानीयसँग सोधपुछका आधारमा ३ जना बेपत्ता भएको प्रारम्भिक अनुमान छ । ‘अहिले सुरक्षामा र तत्कालीन व्यवस्थापन उद्धारमा व्यस्त छौं, कति जना को–को भन्ने सम्पूर्ण विवरण प्रस्ट खुलेको छैन, बाढीले नदी किनारका संरचना तहसनहस बनाएकोबारे बुझ्दैछौं,’ उनले भने । अविरल वर्षाले मुहानस्थलबाट नै उर्लिएर आएको मेलम्चीको बाढी हेलम्बु पुगेपछि त्रसित स्थानीय र सुरक्षाकर्मी सुरक्षित स्थानमा सरेको उनले सुनाए । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानबाटै नदीको बहाव बेलुकी करिब ६ बजेबाट क्रमशः बढ्दै आएको थियो ।
मेलम्ची आयोजनाको काम गर्ने चिनियाँ क्याम्प क्षतिग्रस्त बनाएर उर्लिएको बाढीले क्रमशः वरपरका संरचना बगाउन थालेपछि हेलम्बुदेखि मेलम्ची भेगका बजार र गाउँ क्षेत्रमा भागभाग चलेको थियो । बाढीले आयोजनाको मुहानस्थल अम्बाथानस्थित कामदार बस्ने क्याम्प र सशस्त्र प्रहरी क्याम्पमा क्षति पुर्याएको छ । हेलम्बु प्रहरी चौकीमा पनि क्षति पुगेको डीएसपी सापकोटाले बताए ।
हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार हेलम्बु भेगमा मात्रै ४/५ जना बेपत्ता भएको अनुमान छ । मेलम्ची नदीको मुहानस्थल नाकुतेबाट बढ्दै आएको नदीले हेलम्बु– २ किउल, ग्याल्थुम र मेलम्ची नदी आसपासका ट्राउट फार्म, रिसोर्टसहित केही घर बगाएको छ । ‘जताततै पुल सडक बगाएको छ, जसबारे बुझ्दैछौं, यकिन विवरण आइसकेको छैन,’ उनले भने ।
हेलम्बु गाउँपालिका–२ किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ हुँदै मेलम्ची बजारसम्म एक दर्जनभन्दा बढी स्थानीय घर छाडेर छिमेकी या अन्यत्र सुरक्षित स्थानमा सरेका छन् । मेलम्ची नगरका स्थानीय सुचिन सुवेदीले इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने पुल मेलम्ची नदीले बगाएको बताए ।
मेलम्ची नदी किनार क्षेत्रका केही घरमा बाढी पस्ने जोखिम भएपछि त्यहाँका मानिसलाई स्थानीय विद्यालयमा ल्याएर आश्रय दिइएको स्थानीयले बताएका छन् । त्यसैगरी भोटेकोसी नदीको सतह बढेपछि स्थानीय त्रसित भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया