नेपालले खेल्ने विश्वकप छनोटका सबै खेलको लाइभ कान्तिपुर टिभीमा
नुवाकोट । कुवेतमा हुने फिफा विश्वकप तथा एएफसी एसिया कप छनोटअन्तर्गत नेपालले खेल्ने सबै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ। जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग हुने खेल कान्तिपुरमा प्रत्यक्ष प्रसारण हुने भएको हो।
विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगिसकेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली टोली कुवेत पुगेको हो ।
इराकसितको मैत्रीपूर्ण खेल खेलेर टोली त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । कुवेतमा नेपाली टोलीले तीन खेल खेल्ने छ । पहिलो खेल नेपालले यही जेठ २० गते चाइनीज ताइपेइसित खेल्ने छ । दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
विश्वकप छनोट र एसियन कप छनोटका लागी राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गरेका हुन् । नेपाली टोली स्थालमार्ग हुँदै कुवेत पुगेको हो । शनिबार नेपाल मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो । कुवेत पुगेपछि नेपाली टोलीका सबै सदस्यको पिसिआर परीक्षण गरिएको थियो । सवैको पिसिआर रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ ।
नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् ।
विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ । समूह बी मा रहेको नेपाल तीन अंक जोड्दै चौथो स्थानमा छ । सोही समूहमा रहेको चाइनीज ताइपेइ अङ्कबिहीन छ । समूहको शीर्ष स्थानमा १२ अंकका साथ अस्ट्रेलिया छ भने दोस्रो स्थानमा १० अंकसहित कुवेत रहेको छ । यस्तै १० अंकका साथ जोर्डन तेस्रो स्थानमा छ ।
विश्व फुटबल महासंघ (फिफा)को बरियतामा अष्ट्रेलिया ४१औं स्थानमा, जोर्डन ९५औं, चाइनिज ताइपेइ १४१औं तथा नेपाल १७१औं स्थानमा छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया