आज १४ औं गणतन्त्र दिवस मनाइँदै
नुवाकोट । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ । गणतन्त्र दिवस स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न तरिकाले मनाइरहेका छन् ।
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।
गणतन्त्रलाई जनता विजय भएको पर्वको रुपमा मनाउन आग्रह गरिए पनि कोरोना महामारीका कारण अक्सिजन समेत नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाका कारण जनतामा उत्साह छैन । सत्ताको लुछाचुडीका कारण गणतान्त्रिक व्यवस्था नै धरापमा परेको टिप्पणीसमेत हुने गरेको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औं गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी छन् ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया