प्रधानमन्त्रीलाई विश्वासको मत लिन विज्ञको सुझाव
नुवाकोट । प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक भएको सर्वोच्च अदालतले ठहर गरेपछि र नेकपाको एक समूहले साधारण सदस्यबाट पनि हटाएको भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन आवश्यक हुने सम्बन्धित विज्ञहरुले बताएका छन् ।
अविश्वासको प्रस्ताव राख्नुभन्दा पहिले प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि प्रस्ताव गर्नुपर्ने सम्बन्धित विज्ञहरुले उल्लेख गरेका हुन् । हाल कानुनीरुपमा विभाजित नभए पनि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रचण्ड–माधव समूहले पार्टीको साधारण सदस्यबाट समेत हटाइसकेको भनेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन आवश्यक भएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले बताउनुभयो । उहाँले भन्नुभयोे– ‘प्रतिनिधिसभा विघटन गरिएको कार्य सर्वोच्चले असंवैधानिक भएको ठहर गरिसक्यो । पार्टीको एक समूहले प्रधानमन्त्रीलाई साधारण सदस्यबाट समेत हटाएको उल्लेख गरेको छ ।
यस्तो अवस्थामा अब प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको अझै विश्वास छ भन्ने देखाउन उहाँले प्रस्ताव गर्नुपर्छ ।’नेपालको संविधानको धारा १०० को उपधारा (१) मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक र उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रस्ताव राख्न सक्ने प्रावधान उल्लेख छ ।
यसै गरी उपधारा (२) मा सरकार प्रमुखले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।
सरकारमा सहभागी दल नेकपाको एक समूहले नै प्रधानमन्त्रीलाई पार्टीको साधारण सदस्यबाट नै हटाइसकेको अवस्थामा संविधानको धारा १०० को उपधारा (१) र (२) बमोजिम अनिवार्यरुपमा विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।
जनताको आस्था कम भयो होला भन्ने सोचेर अब प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँ संविधानको धारा १०० को उपधारा (१) र (२) को प्रयोग यस्तै अवस्थामा गर्ने हो भन्दै यसबाट प्रधानमन्त्री भाग्न नहुने बताउनुहुन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम यही फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउने हो वा प्रधानमन्त्री आफैले विश्वासको मतका लागि प्रस्ताव राख्नुहुन्छ भन्नेमा अन्योल नै रहेको छ ।
अविश्वासको मत ल्याउला र ‘फेस’ गरौंला भनेर प्रधानमन्त्रीले सोचाइ राख्ने नभई प्रधानमन्त्री आफैले नै पहिले विश्वासको मतका लागि प्रस्ताव लानुपर्छ भन्दै पूर्वन्यायाधीश केसीले यसो गर्ने हो भने प्रधानमन्त्रीको आस्था बढ्ने उल्लेख गर्नुभयो । धारा १०० को उपधारा (३) मा उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया