राजपाले संसद्मा प्रभावकारी भूमिका खेल्ने
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय संसद्को दुवै सदनमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने भएको छ ।
राजपा संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले संसद्मा उठेका विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुने निर्णय गरेको हो । बैठकले संसद्मा उठेका विषयमा गुण र दोषका आधारमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नवनिर्वाचित दलका नेता ठाकुरले वर्तमान समसामयिक परिस्थितिबारे बैठकमा धारणा राख्दै राजपाले जनताको अपेक्षाअनुरुप काम गर्नुपर्ने भएकाले एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
राजपालाई मधेश केन्द्रित दलका रुपमा चित्रण गरिने गरेकामा आपत्ति जनाउँदै नेता ठाकुरले राजपा देशका सम्पूर्ण उत्पीडनमा परेका जनताको भावनालाई एकाकार गर्दै अनवरतरुपमा अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । सरकारलाई समर्थन गरेको राजपाले सरकारमा सहभागी हुने या नहुने भन्नेबारे अझै निर्णयमा पुग्न सकेको छैन । संविधान संशोधनको विषयको स्पष्टतापछि मात्रै राजपाले निर्णय लिने नेताहरूले बताएका छन् ।
राजपा संसदीय दलको नेतामा ठाकुर
राजपा संसदीय दलकोे नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ । राजपा संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मतरूपमा चयन गरेको हो । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रस्ताव तथा सबै नेताको समर्थनमा ठाकुर दलको नेतामा चयन हुनुभएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो ।
“राजपाले एकसाताअघि आज निर्वाचन हुने मिति घोषणा गरेदेखि नै पार्टीको नेता को हुने कुन विधिबाट हुने, पार्टीमा विवाद छ भन्ने बाहिर हल्ला फिँजाइएको थियो त्यो सबलाई चिर्दै सर्वसम्मतरुपमा निर्णयमा पुग्न सफल भएको छ । राजपा आज पनि मुद्दाप्रति इमान्दारीपूर्वक कुनै प्रकारको मत मतान्तर छैन भन्ने कुरा आजको निर्णयले प्रमाणित गरेको छ”, नेता यादवले भन्नुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया