शेयर बजारबाट अर्थमन्त्री खतिवडाले भगाउँन खोजेका को हुन् १० ठूला माफिया ?
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका ठूला नेतादेखि साना कार्यकर्तासम्मलाई सोध्यो भने उनीहरुले अहिले भन्नेछन् – शेयर बजार १०, ११ जना ठूला माफियाको हातमा रहेछ,उनीहरुलाई नभगाईकन शेयर बजारमा जनताको पहुँच कायम हुन्न ।
अर्थमन्त्री डा युवराज खतिवडाले प्रधानमन्त्री केपी ओलीदेखि नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय तहका धेरै नेता कार्यकर्ताहरुको “ब्रेन वास” गरिदिएको भान हुन्छ- माफियालाई नभगाई शेयर बजारको बिकास हुँदैन ।
अर्थमन्त्री खतिवडाले आम चुनावमा बाम गबठन्धनले बहुमत प्राप्त गर्नु भन्दा अगाडि दिएका अन्तर्वार्ता र लेखहरु हेर्दा पनि उनले शेयर बजारमा चलखेल गर्नेहरुका बिरुद्ध निमर्म हुने प्रशस्त संकेत दिएकै थिए भन्ने देखिन्छ । शेयर बजारको बिकासप्रति अनुदारबादी दृष्टिकोण राख्ने खतिवडाले सार्वजनिक मन्चबाट भाषणमा प्रष्टैसँग भने -शेयर बजारमा लगानी गर्दा जोखिम हुन्छ, बैंकको निक्षेपमा पैसा राखे ढुक्कले कमाई हुन्छ ।
धितोपत्र बोर्डकै कार्यक्रममा अर्थमन्त्रीको यस्तो भाषण आएपछि पूँजी बजारका जानकारहरुले स्पष्टसँग बुझे- बाम सरकारले पूँजी बजारलाई आड दिने र यसको बृद्धि र बिकास हुने काम नहोस् भनेर तत्काल सावधानी अपनाउने छ ।
आफैले अनुदारवादी दृष्टिकोण राखेर शेयर बजारलाई कस्न लाग्दा सार्वजनिक गरेको उनको सम्पति विवरणले झन् खतिवडाको वास्तविक अबस्था र सोचलाई प्रष्ट पार्यो ।
खतिवडाकै मुख्य सल्लाहमा आएको सरकारको नीति तथा कार्यक्रम, खतिवडा आफैले तयार पारेको बजेट र उनकै मार्गनिर्देशन समेटिएको राष्ट्र बैंकको मौद्रिक नीतिले नेपाल कम्युनिष्ट पार्टीको सरकारले पूँजी बजारलाई हेर्ने दुष्टिकोण र गर्ने ब्यवहार झन् प्रष्ट पारेको छ । अब यहाँ भन्दा बढी प्रष्ट हुनुपर्ने ठाउँ केही बाँकी छैन । यो अबस्थामा खतिवडाको “गाईडेन्स” मा चलेको ओली सरकारले शेयर बजारबाट भगाउँन चाहेका कथित १० ठूला “माफिया” को हुन् भन्ने कुराले चाँही धेरैको ध्यान तानेको छ ।
अर्थमन्त्री खतिवडाले शेयर बजारका माफियालाई भगाउन खोज्दा लाखौं सर्बसाधारणको सम्पति माटोमा मिलेको नै किन नहोस्, बेपर्वाह र अबिचलित भएर उनी अघि बढिरहेका छन् । आईपीओ बिक्री भईहाल्छ, दोस्रो बजारलाई नियन्त्रणमा राख्नुपर्छ भन्ने सोच अर्थमन्त्रीले पालेको देखिन्छ । दोस्रो बजारबाट माफियालाई भगाउने नाममा बजार खस्किएर आज आईपीओ बिक्री नहुने अबस्था आईसक्दा पनि खतिवडाले ब्रेन बास गरिदिएका नेकपाका नेताहरुको होस् खुलेको छैन । केहीले अलि होसमा आएको जस्तो गरे पनि परिवर्तनको प्रसब पीडामा यस्तो हुन्छ भन्दै उम्किदिन्छन् ।
शेयर बजारका ती “ठूला माफिया” को हुन् भन्ने बारेमा किटानी गरेर सत्ताधारी कम्युनिष्ट पार्टीका कोही पनि नेता बताउँन सक्दैनन् । उनीहरुको संकेत मारवाडी समुदायका केही ठूला लगानीकर्ताहरु हुन् कि भन्ने बुझ्न प्रयास गर्दा पनि उनीहरु कसैको नाम लिदैनन् । भारतसँग सम्बन्ध भएका मारवाडी समुदायका ती लगानीकर्ताहरुको नाम लिँदा भारतसँगको सम्बन्धमा असर पर्छ भनेर भनेर उनीहरु निकै सचेत छन् वा उनीहरु आफ्नो कमजोरी मारवाडी समुदायका केही ब्यक्तिको टाउकोमा थोपरेर दोषमुक्त हुने उपायलाई पनि सुरक्षित नदेखेका हुन् , बुझ्न गाह्रो छ । नेकपाका नेताहरुलाई “माफिया” को हुन् त भन्ने प्रश्न तेस्र्यायो कि प्रसंग मोडिहाल्छन् ।
नेपालको शेयर बजारमा चलखेल हुँदै नभएको हैन तर त्यसलाई नियन्त्रण गर्न नियमनको कानुनी र संस्थागत आधार बलियो बनाउनु पर्छ । ठूला शेयर कारोबारीहरुलाई “माफिया” भन्ने आरोप लगाउने हो भने त्यहाँ सबै जाति र समुदायकाको उपस्थिति छ । केही अग्रवालहरु, संघाईहरु र चौधरीहरु अगाडि होलान् तर ठूला कारोबारी जसलाई अर्थमन्त्रीको सांकेतिक भाषामा “माफिया” भन्ने हो भने त्यसमा बिष्ट, घिमिरे, तिमिल्सिना, पौडेल जस्ता बाहुनहरु, प्रधान, श्रेष्ठ थरका नेवार आदिबासीहरु पनि छन् । तर सत्य के हो भने कसैले पनि लुटेर ल्याएको पैसा शेयर बजारमा लगाएका हैनन् । कसैले सरकारी र कानुनी छिद्रबाट बढी फाईदा लिए होलान् तर सबैलाई “माफिया” भन्न मिल्दैन । कसैले गडबड गरेको छ भने कानुनले समात्ने हो, प्रक्रियाले ठीक ठाउँमा ल्याउने हो तर “माफिया”लाई ठीक पार्ने नाउँमा सबैलाई आतंकित बनाउँन कहाँ पाईन्छ ? केही ठूला माफियालाई तह लगाउने नाममा शेयर बजारमा छिरेका लाखौं सर्बसाधारणलाई प्रताडित गर्ने डा. खतिवडाको नीति पूँजी बजार बिरोधी छ ।
अर्को वास्तविकता के हो भने सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका धेरै नेता तथा कार्यकर्ता पूँजी बजार र यसको महत्वबारे जानकार नै छैनन् । केही “सहकारी अभियान”को उग्र कुरा गर्छन र पूँजी बजारलाई दुष्मनको रुपमा हेर्छन भने केही न सहकारी अभियानसँग जोडिएका छन् न त पूँजी बजारमै आबद्ध छन् । जसले पूँजी बजारको महत्व बुझेकै छैनन्, त्यस्तालाई अर्थमन्त्री खतिवडाले सहज रुपमा “ब्रेन वास” गरिदिएका छन् । जो नेता तथा कार्यकर्ताले पूँजी बजारबारे बुझेका छन् र यससम्बन्धी नीति तथा कार्यक्रममा जोड दिन्छन्, उनीहरु केपी ओली गुटको कोभाजनमा परेर न रुनु, न हाँस्नुको दोसाँधमा छन् ।
अर्को यथार्थ यो पनि हो कि तत्कालीन एमाले र माओबादीका धेरै तल्ला तहका कार्यकर्ता र समर्थकहरुको लगानी शेयर बजारमा छ र सबैभन्दा धेरै गुमाउनेमा उनीहरु पनि छन् । जसले हालैको चुनावमा तत्कालीन एमाले र माओबादीलाई भोट हालेर प्रचण्ड बहुमतको स्थानमा पुर्याए, ती जनताको संख्या धेरै छ । र, बाम गठबन्धनको स्थायी सरकार बनेपछि पूँजी बजारले फड्को मार्छ भन्ने आशामा पूँजी बजारमा लगानी बढाउनेको संख्या पनि उत्तिकै ।
पूँजी बजारमा जुन प्रकारले क्षयीकरण भयो र सर्बसाधारणले गुमाए, त्यो भन्दा कयौं गुणा बढी सरकारले नै गुमायो । लगभग २६ खर्बको बजार (२०७३ साउन १२ को बजार पूँजीकरण र त्यस यता थपिएको हकप्रद, बोनस, आईपीओ र एफपीओको समेत हिसाब गर्दा) पूँजीकरण आज १४ खर्बमा सिमित हुँदाको हिसाबले १० खर्ब गुमेको छ । अहिले सरकारले पाउने पूँजीगत लाभकर ९५ प्रतिशतले, कमिशनबाट लिने अग्रिम कर, नेप्से तथा धितोपत्र बोर्डले कमिशनबाट पाउने भाग ७५ प्रतिशतले घटेको छ । माफियालाई तह लगाउने नाममा कसले कति गुमायो, आज हिसाब गरेर हेरौं, कहालीलाग्दो चित्र देखिन्छ ।
“माफिया”लाई तह लाउने नाममा पुरै पूँजी बजारलाई आतंकित बनाउन छाडी राम्रो नीतिगत ब्यवस्थाहरु गरेको भए अबश्य नै अर्थमन्त्री खतिवडा र उनको आर्थिक मार्गनिर्देशनमा चल्ने प्रधानमन्त्री केपी ओली हाई हाईको पात्र हुने थिए । पूँजी बजारलाई नियन्त्रणमा राख्छु भन्ने नियतले भाषणवाजी गर्दै हिड्दा आफु पनि चिप्लिए र लाखौं लगानीकर्ताको लगानीलाई पनि खरानी बनाए । भलै वनमा डढेलो लागेपछि फेरि टुसा पलाएर हरियाली हुन समय लाग्छ, अब त्यो समयको प्रतीक्षा गर्नुभन्दा अर्को विकल्प छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया