बागमती प्रदेश प्रवेश गर्ने सवारीलाई अनिवार्य सेनेटाइज

हेटौंडा। पछिल्लो समय कोरोना संक्रमितको संख्या निकै बढेको भारत र प्रदेश–२ बाट बागमती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने सवारीलाई अनिवार्य सेनेटाइज गर्न सुरु गरिएको छ ।
चुरियामाईमा सवारीसाधनलाई अटोमेटिक सेनेटाइज गरेपछि मात्र हेटौंडा भएर विभिन्न जिल्लामा जान दिइने भएको हो । हेटौंडाको उपमहानगरपालिका–१५ स्थित रातोमाटे प्रहरी चेकपोष्टमा सवारीसाधनका लागि सेनेटाइज टनेल राखिएपछि सेनेटाइज सुरु गरिएको हो । सवारीसाधनका लागि लक्षित गरेर राखिएको सेनेटाइजको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो । उहाँ चढ्ने गाडी पहिलोपटक सेनेटाइज गरिएको थियो । प्रदेश–२ अन्तर्गत् बाराको जीतपुर सिमरा उपमहानगरमा कोरोना संक्रमित भेटिएसँगै बागमती प्रदेश सरकारले नाकाबाटै सुरक्षाको तयारी थालेको हो । सरकारले व्यबसायी र सामाजिक संस्थासँगको सहकार्यमा सेनेटाइज टनेल जडान गरेको हो ।
बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सेनेटाइज निर्माणमा मकवानपुर उद्योग वाणिज्य संघले संयोजन गरेको थियो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास दिनप्रतिदिन बढ्दै गएको र यसको रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न सवारीसाधनलाई सेनेटाइज गर्न सुरु गरिएको हो । प्रदेश सरकारको दुई लाख ७० हजार रुपियाँ लागतमा टनेल निर्माण गरिएको हो । सेनेटाइज टनेलभित्र सवारीसाधन प्रवेश गरेपछि आफैं मेसिन सञ्चालन हुने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । कीटनाशक झोलको सही तारिका तथा मात्रामा प्रयोग गर्दा भुईं, यातायातका साधन, छुने गरेका वस्तु, सामग्रीमा स्प्रे गर्दा सतहमात्र निसंक्रमण हुनेछ ।
यसअघि रातोमाटेमा हेटौंडा उपमहानगरपालिकाले मानिसका लागि सेनेटाइज मेसिन जडान गरेको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु हानिकारक भएको बताएको छ । शरीरमा केमिकल स्प्रे गरेर कोरोना भाइरस नमर्ने विज्ञहरुले बताएका छन् । उनीहरुका अनुसार शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि यस्ता डिस्इन्फेक्टेन्ट छर्दा नाश हँुदैन । भाइरसको वृद्धि मानिसको शरीरभित्रको कोषमा भइरहने भएकोले यसले कुनै अर्थ नराख्ने उनीहरुको दाबी छ ।
शरीरमा छरिएको डिस्इन्फेक्टेन्टले आँखा, मुख, नाक आदिमा हानि गर्नुका साथै सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वासमा विभिन्न समस्या उत्पन्न हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया