नेपालकी दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्
नुवाकोट । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् ।
चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।
काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् । गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया