लकडाउनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पौडेल
नुवाकोट । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको समया स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् ।
कोरोना भाइरस नियन्त्रणका सन्दर्भमा मुलुक लकडाउन भएको अवस्थामा स्थानीय तहले खेलेको भूमिकाको मुख्यमन्त्री पौडेलले प्रशंसा गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको कोरोना भाइरस (कोभिड– १९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी भएको सर्वदलीय बैठकमा पौडेलले स्थानीय सरकारको भूमिकालाई संघ तथा प्रदेश सरकारले मूल्याकंन गरेको बताए।
विश्वभरी चुनौतीका रूपमा फैलिएको महामारीलाई पराजित गर्न सबै एकसाथ लाग्नुपर्ने उनको भनाइ थियो। हाल कोरोना भाइरस विरुद्ध तीनै तहका सरकार एकजुट भएर लडिरहेका उनले बताए।
कोरोना विरुद्ध प्रदेशमा सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरू निरन्तर रूपमा खटिरहेको भन्दै प्रदेशको साधन, स्रोत र क्षमताअनुसार काम गरिरहेको उनले बताए। ‘अहिले पनि धेरै चुनौतीकाबीचमा काम भइरहेका छन्, लकडाउन सुरुवाति चरणमा छ, अब अझै चुनौतीपूर्ण हुनसक्छ, हामी झन् धेरै सचेत हुनुपर्ने आवश्यकता रहेको छ। यो समय सबैको हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बेला हो’, उनले भने।
सांसद विरोध खतिवडाले कोरोनाबाट प्रभावित दैनिक ज्यालादारी मजदुरको पहिचान गरेर मात्र राहत वितरण गर्नुपर्ने बताए। राहत वितरणमा पहिलेभन्दा पनि ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो।
बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले १३ वटै जिल्लाका १ सय १९ वटै स्थानीय तहमा प्रदेश सरकारले कोरोना प्रभावितका लागि खर्च गर्नेगरी रकम पठाइसकेको बताए। विपद् व्यस्थापन समितिले जिल्लामा ५ लाख, गाउँपालिकामा १० लाख, नगरपालिकामा १२ लाख, उपमहानगरपालिकामा १५ लाख र महानगरपालिकामा २० लाख रुपैयाँका दरले रकम पठाइसकिएको जानकारी उनले दिए।
सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाइरसको संक्रमणको आशंका हुन बित्तिकै परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए। अहिले पनि सबै मापदण्डअनुसार क्वारेन्टाइन र आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले काम गरिरहेको बताए।
प्रमुख प्रतिपक्षी कांग्रेस वाग्मती प्रदेशका नेता ईन्द्रबहादुर बानियाँले राहत वितरणमा एकद्वार प्रणाली हुनुपर्ने बताए। अहिलेको सन्दर्भमा दुर्गम र विकट ठाउँमा राहतको आवश्यकता पर्न थालेको भन्दै सो स्थानमा पठाउन सुझाव दिए ।
कान्तिपुरबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया