सरकारी अस्पतालमा पूर्वाधार कमी, शल्यक्रियाका लागि एक वर्षसम्म कुर्नुपर्ने

विदुर खबर २०७५ वैशाख ५ गते ५:१३

काठमाडौं । धादिङका हरिकरण शाहका ७ वर्षिय छोरालाई हर्नियाको समस्या भएपछि शल्यक्रिया गर्ने दक्ष चिकित्सक नभएको भन्दै जिल्ला अस्पतालले काठमाडौंको कान्ति बाल अस्पतालमा रिफर गरिदियो ।

Advertisement

हरिकरण छोराको उपचार गर्न गत कात्तिकमा काठमाडौं आए । तर छोराको शल्यक्रिया गर्नका लागि ८ महिनापछि मात्र पालो आउने चिकित्सकले बताए । “निजी अस्पतालमा जान पैसा छैन, सरकारी अस्पतालले ८ महिनापछि मात्र शल्यक्रियाका लागि पालो आउँछ भन्छ,” उनले भने, “जिल्ला जाने आउने गर्दा अहिलेसम्म ३० हजार सकिइसक्यो । अझै कति सकिने हो थाहा छैन । शल्यक्रियाका लागि ८ महिना अघि लिएको समय आउन लागेको छ ।”

त्रिशुलीकी सीता माझीलाई सामान्य चिल्लो खानेकुरा खाए पनि पेट फुल्ने, दुख्ने डकार आउने हुन्थ्यो । उनी नजिकैको औषधी पसलबाट औषधी किनेर सेवन गर्न थालिन् । हरेक दिन अलिक चिल्लो खानेवितिकै पेट दुख्ने पोल्ने, फुल्ने भएपछि उनी त्रिशुली अस्पताल पुगिन् । अस्पतालले उनलाई पित्तथैलीमा पत्थरी र मिर्गौलामा फोका भएको भन्दै उपचारका लागि महाराजगञ्जस्थित टिचिङ् अस्पताल रिफर गरिदियो । उनी अस्पतालले रिफर गरेको करिब ३ महिनापछि मात्र शल्यक्रिया हुने मिति तोकियो ।

Advertisement

“पालो पाउन डेढ महिना धायौं, भनसुन गरेपछि अलि छिटो पालो आयो,” मिर्गौलाको शल्यक्रिया गर्न वीर अस्पताल आएकी हेटौँडाकी सोमकुमारी धामीले भनिन् । वीर अस्पतालमा उपत्यकाबाहिर र उपत्यकाभित्रका गरी दैनिक बिरामी ४० देखि ५० जना शल्यक्रियाका लागि मात्रै आउने गरेको अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले बताए ।

उनले भने, “सबैलाई एकैपटक सेवा दिन जनशक्तिको कमी छ ।” हाडजोर्नी, न्युरो र ग्यास्ट्रो सर्जरी, ईएनटी, साधारण शल्यक्रिया, पायल्स, हर्निया, पत्थरी, हाइड्रोसिल, युरोलोजी जस्ता रोगको पालो ढिला हुने गरेको निर्देशक बस्नेत स्वीकार्छन् । तर गम्भीर तथा आकस्मिक शल्यक्रिया भने छिट्टै हुने गरेको उनी दाबी गर्छन् ।

Advertisement

अहिले वीरमा सामान्य र जटिल शल्यक्रिया गरी करिब १ हजार जना बिरामी पालोको पर्खाइमा रहेको जनरल सर्जरी विभागले जनाएको छ ।

त्यसैगरी, त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख मानबहादुर भट्टले दैनिक ८० देखि १२० जनासम्म शल्यक्रियाका बिरामी आउने गरेको बताए । “सबैतिरका बिरामीहरु यहीँ आउने भएकाले सेवा दिन महिनौँ लाग्ने गरेको छ,” उनले भने, “इमर्जेन्सीमा भर्ना भएकाहरुको भने अवस्था हेरेर तुरुन्तै उपचार गरिन्छ नभए अन्य बिरामीको तालिका मिलाउनुपर्ने हुन्छ । सबै मिलाएर मिति तोक्ने गरिन्छ ।”

शल्यक्रियाकै लागि महिनौसम्म अस्पताल धाउनुपरेको र भर्ना भएपछि पनि धैरै समय बिताउनुपरेको बिरामीको गुनासो छ । त्यसैगरी, कान्ति बाल अस्पतालका निर्देशक गणेश राईले दैनिक ५ देखि १५ सबै प्रकारका शल्यक्रियाका बिरामी आउने गरेको बताए ।
“जनशक्ति अभावका कारण पनि छिटो सेवा दिन नसकेको हो,” उनले भने “बिरामी संख्यामा अप्रेशन थिएटरको क्षमता कम हुनुले पनि पालो पाउन मुस्किल भएको हो ।” परोपकार प्रसुती गृहमा पनि पाठेघरको उपचार गर्न एक महिनादेखि २ महिनासम्म लाग्ने र मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमा पनि शलयक्रियाका लागि महिनौँ कुनुपर्ने समस्या छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार संविधानमा नै स्वाथ्यलाई मौलिक हकका रुपमा उल्लेख गरिएको भए पनि कैयौं समस्याका कारण ढिला भएको बताउँछन् ।

उनले भने “मानव स्रोतको व्यवस्थापन प्रभावकारी हुनसकेको छैन । भौतिक पूर्वाधार सूचना प्रणाली पनि व्यवस्थित बनाउनुपर्ने खाँचो छ ।” यता महालेखा परीक्षकको प्रतिवेदनमा बिरामीको समयमा उपचार नभएको उल्लेख गर्दै सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

“चिकित्सकको सिफारिसबमोजिम शल्यक्रिया गर्नुपर्ने बिरामीको समयमा नै उपचार हुनुपर्दछ,” महालेखाको प्रतिवेदनमा उल्लेख छ । केही अस्पतालको शल्य चिकित्सासम्बन्धी विवरण माग गरी विश्लेषण गर्दा कान्ति बाल अस्पतालमा हर्निया, हाइड्रोसिलको शल्यक्रिया गर्न १२ महिनासम्म, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पाठेघरको शल्यक्रिया गर्न ३ महिनासम्म, वीर अस्पतालमा सामान्य शल्यक्रिया गर्न ६ महिनासम्म, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुरोगको शल्यक्रिया गर्न २ महिनासम्म पर्खनुपर्ने स्थिति रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । भौतिक पूर्वाधारको तुलनामा बिरामीको चाप अधिक रहेकोले यस्तो स्थिति रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले समयमा नै सेवा दिन नसकेका कारण बिरामी उपचारको लागि निजी अस्पताल जानुपर्ने अवस्थामा सुधार गर्न जरुरी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया