महराले रगत दिन मानेनन्, डीएनए परीक्षण भएन
जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानमा असहयोग गरेका छन् ।
रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन । प्रकरणको अनुसन्धान गरेको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको थियो । अपराधस्थल भनिएको सुविधानगरस्थित घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको तलुवालगायतका सामग्री महराको हो/होइन भन्ने प्रमाणित गर्न डीएनए जाँच गर्ने तयारी प्रहरीले गरेको थियो ।
प्रारम्भमा रगत दिन इन्कार गरेपछि प्रहरीले अदालत गुहारेको थियो । जिल्ला अदालत, काठमाडौंले ७ कात्तिकमा रगत दिन महरालाई आदेश दिएको थियो । न्यायाधीश सुदर्शनराज पाण्डेको आदेशले ७ दिन म्याद थप गर्दै रगत दिन आदेश दिएको थियो । डीएनए परीक्षणविना आरोपबारे अनुसन्धान गर्न नसकिने अनुसन्धान अधिकृतको दाबी थियो ।
तर, अदालतको आदेश पनि महराले टेरेनन् । काठमाडौं प्रहरीका एक अधिकृतले भने, ‘उहाँले रगत दिन नमान्नु भएको व्यहोरा उल्लेख गरेर मिसिल बुझाएका छौं ।’ प्रहरीले घटनास्थलबाट बरामद गरेको मदिराको बोतल, चस्मा, जुत्ताको तलुवालगायतको फिंगर प्रिन्ट निकालेर परीक्षण गराएको छ । बरामद फिंगर प्रिन्टलाई फरेन्सिक जाँचमार्फत महराको फिंगर प्रिन्टसँग जुधाइएको थियो । तर, त्यसको नतिजाबारे हालसम्म सार्वजनिक गरिएको छैन ।
पोलिग्राफ जाँच पनि भएन, मोबाइल दिएनन्
प्रहरीले अनुसन्धानको सिलसिलामा महराको पोलिग्राफ परीक्षण गर्न खोजेको थियो । तर, महराले स्वास्थ्य अवस्था ठीक नभएको बताउँदै परीक्षण गर्न मानेनन् । पोलिग्राफ परीक्षणका लागि सम्बन्धित अभियुक्तले अनुमति दिनुपर्ने बाध्यकारी व्यवस्था छ । यो विधिबाट व्यक्तिले झुट बोलेको छ/छैन भन्ने पत्ता लगाउने गरिन्छ । यसअघि हतियारसहित पक्राउ परेका तत्कालीन माओवादी केन्द्रका सांसद ल्ह्यारक्याल लामाले पनि पोलिग्राफ जाँच गर्न मानेका थिएनन् ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार महराले फरेन्सिक जाँचका लागि मागिएको मोबाइल पनि दिएनन् । महराले नदिएपछि प्रहरीले अनुसन्धानका लागि छोरासँग पनि मोबाइल मागेको थियो । तर, उनीबाट पनि सहयोग नभएको प्रहरी अधिकृतको गुनासो छ । संसद सचिवालयमै कार्यरत पीडित महिलाले १३ असोजमा घटना सार्वजनिक गर्दै दिएको भिडियो अन्तर्वार्तामा ती सबुत देखाइएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया