प्रदेश सरकारसँग अलमलिने समय छैन : जम्मकट्टेल
नुवाकोट । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारसँग अलमल गरेर बस्ने समय नभएको बताउनुभएको छ ।
प्रदेश सरकारको आर्थिक अनुदानमा मकवानपुरका विभिन्न स्थानमा निर्माण गरिएका प्रहरी भवनको आज अनुमगन गर्दै उहाँले कतिपय ठाउँमा ठेकेदारका कारण काम अवरुद्ध हुने गरेको बताउनुभयो । मन्त्री जम्मकट्टेलले तोकिएको समयमा कुनै पनि हालतमा काम सम्पन्न गर्न निर्माणमा संलग्न ठेकेदार तथा कर्मचारीलाई निर्देशन दिनुभयो । “टहरामा बसेर नागरिकको सेवामा तैनाथ सुरक्षाकर्मीको दुःख देखेर भवन निर्माणको निर्णय गरिएको हो”, उहाँले भन्नुभयो । समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीको रकम रोक्का गर्ने तथा आगामी योजनामा उनीहरुलाई सहभागी नगराइने बताउनुभयो ।
मन्त्री जम्मकट्टेलले बकैया गाउँपालिका, हेटौँडा–१५ र हेटौँडा–११ मा निर्माणाधीन प्रहरी चौकी तथा भीमफेदी कारागार परिसरमा निर्माणाधीन महिला बन्दी गृहको अनुगमन गर्नुभयो । सो अवसरमा उहाँले काम गराई सन्तोषजनक नभएको भन्दै प्रदेश सरकारको गतिअनुसार काम गर्न निर्देशन दिनुभयो । “प्रदेश सरकारको उद्देश्यअनुसार काम सम्पन्न गर्नुस्”, उहाँले भन्नुभयो । अनुगमनका क्रममा आन्तरिक मामिला मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रदेश सरकार छिटोभन्दा छिटो काम सम्पन्न गर्न लागिपरेको बताउनुभयो । सो अवसरमा प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेत, प्रजिअ प्रेमराज जोशी र प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भवन निर्माणपछि सुरक्षाकर्मीलाई कार्यसम्पादन गर्न सहज हुने धारणा राख्नुभयो । प्रदेश सरकारले प्रदेशभर ४८ प्रहरी चौकी भवन निर्माण गरिरहेको छ । –––
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया