व्याज कति दिने बैंकर्स संघले तोक्ने होइनः एनआईसी एसिया बैंक
२५ फागुन, काठमाडौं । ब्याजदर नघटाएका कारण एनआईसी एसिया बैंकसँग अन्तरबैंक कारोबार बन्द गर्ने नेपाल बैंकर्स एशोसिएशनको निर्णयप्रति एनआईसी एसिया बैंकका उच्च अधिकारीहरुले आपत्ति जनाएका छन् ।
बैंकका सहायक सीईओ सुुधीर पाण्डे ब्याजदरमा कडाई गर्ने अधिकार बैंकर्स एशोसिएशनसँग नभएको बताउँछन् । ब्याजदरको सिमा तोक्ने जिम्मा नेपाल राष्ट्र बैंकसँग मात्रै भएकाले नेपाल बैंकर्स एशोसिएशनले गलत निर्णय गरेको उनको भनाइ छ ।
अनलाइनखबरसँग कुुराकानी गर्दै पाण्डेले भने ‘हामीले ब्याजदर घटाएर बढाएका होइनाै, ब्याजदर के–कति तोक्ने र ग्राहकलाई कति प्रतिफल दिने भन्ने हाम्रो कुरा हो, यसमा बैंकर्स एसोसियसनले कुनै कडाई गर्न पाउँदैन । ’
तरलता अभावका कारण बचतमा १० प्रतिशत र मुद्दतिमा १२ प्रतिशत ब्याज दिएको पाण्डे बताउँछन् । बैंकले शुक्रबार मात्रै एक सुचना निकाल्दै बैंकले यस्ताे ब्याजदर प्रस्ताव गरेकाे हाे ।
यसअघि मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज प्रदान गरेको एनआईसीले शुक्रबार १ प्रतिशत ब्याज बढाउँदै १२ प्रतिशत कायम गरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्ममा ५ खर्ब ८७ अर्ब २८ करोड अन्तरबैंक कारोबार भएको छ । यस्तो अन्तरबैंक कारोबार बन्द भएसँगै एनआइसी एसिया बैंकको खर्च बढ्न सक्ने देखिन्छ ।
वैदेशिक मुद्रा सटही गर्नका लागि अब एनआईसी एसियाले राष्ट्र बैंकनै धाउनुपर्ने बाध्यता हुन्छ । त्यस्तै सीसीडी रेसियो मेन्टेन गर्न बैंकहरुबाट छाटो समयको लागि सापटी लिने पनि सुविधा हराएको छ । यसका लागि अब राष्ट्र बैंकनै धाउनुपर्ने हुन्छ ।
सस्तो ब्याजमा पाइने यस्तो ऋणको सुबिधाबाट बैंकहरुले एनआईसी एसियालाई बिमुख बनाएका छन् । अन्तरबैंक कारोबार बन्द गरेका बैंकहरुले एनआईसी एसियामा निक्षेप गरेर राखेको रकम पनि निकाल्न सक्ने जोखिम उत्तिकै बढेर गएको छ ।
एनआइसीले गत मंसिरसम्ममा अन्य बैंकबाट चार अर्ब ३० करोड रुपैयाँ र राष्ट्र बैंकबाट भने ४० करोड सापटी लिएको देखिन्छ । बैंकले ऋणपत्र लगायतबाट पनि ५० करोड रूपैयाँ पुँजी प्राप्त गर्दै आएको छ ।
अब बैंकले राष्ट्र बैंकबाट पैसा लिनु पर्दा ७ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्ने हुन्छ । तर, अन्य बैंकबाट हाल ४.४० प्रतिशत पैसा पाउन सक्ने अवस्था छ ।
यसअघि केही वाणिज्य बैंकहरुले बचतको ब्याजदर १० प्रतिशतसम्म पुर्याउँदा राष्ट्र बैंकले यसलाई आफ्नो सफलताको रुपमा ब्याख्या गरेको थियो । गत वर्ष बैंकहरुले व्यक्तिगत बचतकर्तालाई कम ब्याजदर दिएकोमा समेत राष्ट्र बैंकले असन्तुष्टि जनाउदै आएको थियो ।
बैंकहरुले संस्थागत निक्षेपकर्तालाई मात्र बढि ब्याजदर दिएकोमा समेत आपत्ति जनाएको थियो । यद्यपी, राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भने अहिले यसमा केही बोल्न नमिल्ने बताउछन् ।
‘बैंकहरुले व्याजदर स्थिरीकरण गर्न यस्तो गरेको हुनसक्छ । तर, यस बारेमा हामीले बुझेर मात्रै भन्न सक्छौं,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने ।
राष्ट्र बैंकले समेत बैंकहरुको व्याजदर निर्धारणमा सोझो दबाब दिन सक्दैन् । यसलाई व्यवस्थित गर्नैकै लागि राष्ट्र बैंकले व्याजदर कोरिडोर लगाइएको छ । तर, यसले बैंकहरुको निक्षेप र कर्जाको ब्याजदर व्यवस्थित बनाउन भने सकेको देखिदैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया