बिपी र पुष्पलालमाथिका आरोप वैचारिक दरिद्रताको पराकाष्ठा

विदुर खबर २०७६ साउन ६ गते १६:५५

सन्दर्भ बिपी र पुष्पलाल स्मृति दिवस

आज नेपाली राजनीतिका एक महान ब्याक्तित्व बिपी कोइरालाको ३७ औं स्मृति दिवस हो । २०३९ साउन ६ गते कोइरालाको निधन भएको थियो । यता नेकापा संस्थापक महासचिव एवम अर्का महान व्यक्तित्व कमरेड पुष्पलालको निधन भने २०३५ साउन ७ गते हिन्दुस्तानमा निर्वासनकै बेला भएको हो । यी आधुनिक नेपाली राजनीतिका मुर्धन्य ब्याक्तित्वहरुबारे यस्ता केही भ्रम र बकवासहरु थिए । जसलाई लेखक खगेन्द्र सङ्ग्रौलाले व्यङ्ग्य गर्नुभएको शब्दमा भन्ने हो भने नेपालका कम्युनिस्टहरुको स्कूलिङमा ‘बिपी कोइराला लेन्डुप दोर्जे हुन्, भारतीय विस्तारबाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, दिल्ली सम्झौता धोका हो,’ यो स्कूल लामो समय चल्यो । आज पर्यन्त यो स्कूलिङ चलेकै छ बामपन्थी बृतमा । बामपन्थी बृतमा आफ्नै संस्थापक माथि समेत गम्भीर आक्षेप थियो– ‘कमरेड पुष्पलाल गद्दार हुन्’ । मेरो आफ्नो पुस्ता ९जसलाई आजको युवापुस्ता भन्दा हुन्छ० समेत झन्डै दुई दशक यही स्कूलबाट दिक्षित भएको हो ।

Advertisement

फर्केर हेर्दा र आफ्नै आँखाले नियाल्दा नेपाली राजनीतिका यी अग्रणी ब्यक्तित्वहरुका आफ्ना सीमाहरु थिए होलान् । तर, ती नगन्य हुन् । उनीहरुले पुर्याएको योगदानकै परिणाम आज हामी यहाँ उभिएका छौँ । निर्धक्क छाती फुलाएर भनिन्छ ‘इतिहासले खारेज गरिसकेको छ बिपी र पुष्पलाल माथिको आरोप’ । ती वैचारिक दरिद्रताको पराकाष्ठा थियो । मैले बुझेको यही हो । न पुष्पलाल गद्दार थिए न बिपि लेण्डुप दोर्जे ।

१९९० को दशक वरिपरिबाट शुरु भएको सामन्तवाद बिरोधी उदार पुँजीवादी प्रजातान्त्रिक धारको बैचारिक प्रणेता हुन्– कोइराला । निरंकुश राणा शासन विरुद्ध सशस्त्र बिद्रोहको प्रस्तावक र कमान्डर कोइरालाकै नेतृत्वमा पारिवारिक राणा शासनबाट मुक्ति पाएको थियो नेपाली जनताले । दिल्ली सम्झौतासँग असहमत हुनु मेरो आफ्नो दृस्टिकोणको प्रश्न हो । दिल्ली सम्झौता धोका नै थियो । गृहमन्त्री कालमा चिनियाँ काजीको हत्या र केही असमान सन्धि सम्झौताबारे प्रश्नहरु छन् ।

Advertisement

पुष्पलालले नेपालका मजदुर किसान र उत्पीडित जनताको मुक्तिको लागि नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे । आजीवन अनेकौं दुस्ख र अभाव झेल्दै मृत्युवरण गरे ।

त्यही बेलाबाट शुरु भएको हो नेपाली राजनीतिमा सत्तारुढ वर्गसँग सम्झौताको राजनीति । त्यसै कारण राजनीतिक सत्ताको प्रश्न आज पर्यन्त टुङ्गोमा पुगेको छैन । खैर कोइरालाको योगदान र उनको वैचारिक प्रस्तावना आज पनि नेपालको एक शक्तिशाली धार हो । त्यसलाई निषेध गरेर जाने प्रश्न गम्भीरताका साथ सोच्नुपर्छ । मूल प्रश्न के हो भने कोइराला नेपाली राजनीतिका एक महान ब्यक्तित्व थिए ।

Advertisement

तत्कालीन विश्वको झण्डै एकतिहाई भूभागमा कम्युनिस्टहरुले राज्यसताको बागडोर सम्हालेको बेला कोइरालाले प्रजातान्त्रिक समाजवादको प्रस्तावना अघि सार्नुभयो, जो नेपाली काङ्ग्रेसको आदर्शको रुपमा पारित भयो विरगञ्ज महाधिवेशनबाट । प्रजातान्त्रिक समाजवादको प्रष्ट ब्याख्या गर्न कुनै पुस्तक वा दस्तावेज कोइरालाले लेखेको देखिदैन ।

तर, कोइराला २०१५ मा भएको निर्वाचनमा दुई तिहाइ बहुमत सहित प्रधानमन्त्री निर्वाचित भएपछि अघि सारेका केही अर्थ राजनीतिक कार्यक्रम भने निकै महत्वपूर्ण थिए । झन्डै ३७ प्रतिशत जग्गा राणा र उनका भाइ भारदारका नाममा बिर्ता थियो त्यो समयमा । उनको सरकारले बिर्ता उन्मुलन गर्ने निर्णय गर्यो । राजा रजौटा प्रथा अन्त्य, वनको राष्ट्रियकरण जस्ता निर्णय तत्कालीन अर्थराजनीतिमा महत्वपूर्ण थिए । त्यही उत्पादनको साधन माथिको स्वामित्व गुम्ने भएपछि जमिनदार वर्गले राजा महेन्द्रलाई २०१७ सालको काण्ड मच्चाउन प्रेरित गरे भन्छन् जानकारहरु । जसले गर्दा नेपाली जनताले ३० वर्ष राजाको निरंकुशता व्यहोर्नु पर्यो । अहिलेसम्म भएको राजनीतिक परिवर्तन पछि आर्थिक सम्बन्धमा प्रहार भएको यो पहिलो घट्ना हो । यस हिसाबले यो महत्त्वपूर्ण परिघट्ना हो ।

कोइराला स्वयं कम्युनिस्ट आन्दोलनबाट प्रभावित ब्यक्ति हुनुहुन्थ्यो । भारतीय स्वतन्त्र सङ्ग्राममा समेत भाग लिएर जेल परेका उनी जयप्रकाश नारायण र राममोहन लोहियाहरुको कारण उदार प्रजातान्त्रिक धारमा जोडिए भनिन्छ । त्यतिबेला रुसी अक्टोबर क्रान्तिको विश्वव्यापी प्रभाव थियो । जवाहरलाल नेहरु जस्ता बुर्जुवा प्रजातान्त्रिक नेताहरुसमेत अक्टोबर क्रान्ति र समाजवादका प्रशंसक थिए । नेहरुले आफ्नी छोरीलाइ लेखेको चिठीमा त्यो देख्न सकिन्छ । साठीको दशकमा समाजवाद एक लोकप्रिय राजनीतिक प्रणाली थियो ।

निर्वासनमा रहेकै बेला इन्दिरा गान्धीले संकट घोषणा गरिन् । सिक्किम विलय गराइयो । नेपालको तराई क्षेत्र विलय गराउने योजना भने निर्वाचनमा हार व्यहोरेपछि कार्यान्वयन गर्न नपाएको ‘रअ’कै एक कर्मचारीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । त्यही परिवेशमा बिपी राजाको फासीको सजाय परवाह नगरी स्वदेश फर्के । रिष्ट्रियताको सवालमा राजासँग आफ्नो घाँटी जोडिएको कार्यनीति अख्तियार गरे ।

बिपीको यही कार्यनीतिले भने पञ्चायत विरोधी शक्तिबीच संयुक्त जनआन्दोलनको प्रस्तावलाई अस्वीकार गर्यो । बिपीको कम्युनिस्ट फोवियाले गर्दा पञ्चायत आफ्नो आयु बढाउन सफल भयो । कमरेड पुष्पलाले अघि सार्नुभएको संयुक्त जनआन्दोलनको कार्यनीति बिपीको निधन भएको सात वर्षपछि उनकै सहयोद्धा गणेशमान सिंहको नेतृत्वमा कार्यान्वयन भयो ।

२०४६ जनआन्दोलन पनि राजतन्त्र र समग्र सामन्तवादलाई समाप्त गर्ने स्तरमा उठ्न दिइएन । राजा, काङ्ग्रेस र बाम मोर्चाबीच त्रिपक्षीय सम्झौतामा टुङ्गियो । यसलाई तत्कालीन क्रान्तिकारी कम्युनिस्ट शक्तिले अस्वीकार गर्यो । र, यसले निर्माण गरेको संवैधानिक ब्यवस्था ९संवैधानिक राजतन्त्र र संसदीय व्यवस्था० विरुद्ध जनयुद्धको उठान गर्योग माओवादीले ।

त्यसयता विकसित घट्नाक्रमले दरवार हत्याकाण्ड हुँदै राजाको निरंकुशता र त्यस विरुद्ध माओवादी र सात संसदवादी दलबीच १२ बुँदे समझदारीपछि भएको जनआन्दोलनको बलमा नेपालमा बिपीले आफ्नै राजनैतिक निष्ठा मानेको संवैधानिक राजतन्त्र समाप्त भएको छ । यो कार्यको राजनैतिक नेतृत्व उनको आफ्नै सहोदर भाइ गिरिजाप्रसाद कोइरालाले गरे । जो आफैं सबभन्दा बढी कम्युनिस्ट फोवियाबाट ग्रसित थिए । समयले तिनै गिरिजाप्रसाद कोइरालालाई सशस्त्र बिद्रोहको नेतृत्व गरिरहेको कम्युनिस्ट शक्ति माओवादीसँग हात मिलाउन पुर्यायो । नेपाली राजनीतिका आगामी पुस्ताको लागी यो चाखलाग्दो अध्ययनको विषय बन्ने छ । जसले नेपाललाई गणतन्त्रको युगमा पदार्पण गर्यो । यो कार्यनीतिका सुत्राधार नेपाली राजनीतिमा पुष्पलाल नै थिए । माओवादी भित्र भने यो कार्यनीतिका प्रायोजक बाबुराम भट्टराई थिए ।

यहाँनेर स्मरणीय कुरा के छ भने प्रजातान्त्रिक समाजवादको आदर्श बोकेको नेपाली काङ्ग्रेस पहिलो जनआन्दोलनपछि भने आफ्नो वैचारिक प्रस्थापनाबाट चिप्लियो । बजारवादको हावाहुरीसँगै दौडिनु र उड्नु काङ्ग्रेस राजनीतिको ठूलो भूल थियो । जसको परिणाम आजको युवा पुस्ता र देशले मात्र होइन स्वयं काङ्ग्रेसले भोगिरहेको छ । बेलाबखत काङ्ग्रेसी नेताहरूका अभिव्यक्ति समेत विभिन्न माध्यमबाट अभिब्यक्त भइरहेकै छ । बजारलाई निर्णायक मान्ने र बजारलाई नै अर्थतन्त्रको सबै अवयवहरु सुम्पिनुपर्ने नवउदारवादी अर्थराजनीतिको अवलम्वन र संवैधानिक राजतन्त्रको सीमारेखा पार गरेर काङ्ग्रेसले आज जुन मार्गमा आफुलाई डोर्याएको छ, त्यो बिपीको आदर्श भन्दा फरक कुरा हो । समयले काङ्ग्रेसलाई त्यो बिन्दुमा पुर्याएको छ । गणतन्त्रमा जाने काङ्ग्रेसको निर्णय प्रगतिशील कदम हो भन्न गाह्रो मान्नु पर्दैन ।

यता गद्दारको उपमा दिएर आफैंले स्थापना गरेको कम्युनिस्ट आन्दोलनमा अपमानित हुनु परेको कमरेड पुष्पलालको वैचारिक प्रस्थापनामै आज देश दौडेको छ । तर, पुष्पलालले परिकल्पना गरेको गणतन्त्र प्राप्त भएको भने छैन । मुलुकमा दलाल पुँजिवादी गणतन्त्र स्थापना भएको छ । मेरो पुस्तासमेत लडेर प्राप्त यो गणतन्त्र बिहारी गणतन्त्र हो । यसलाई समाजवादी गणतन्त्रमा डोर्यागउनु मेरो पुस्ताको ऐतिहासिक कार्यभार हो ।

परन्तु माथि उल्लेखित यावत सवालहरु आजको आँखाबाट मात्रै हेरिनु हुँदैन । इतिहासलाई इतिहासकै सन्दर्भबाट पनि हेरिनुपर्छ । त्यसो हुँदा बिपी कोइरालाई निरपेक्ष गाली गर्ने अतिवाद र पुष्पलाललाइ निरपेक्ष गाली गर्ने अतिवादबाट मुक्त भएर यी दुई महान ब्यक्तित्वहरुको योगदानलाई नेपाली राजनीतिमा सदा स्मरण गर्नुपर्छ । हामी कम्युनिस्ट र काङ्ग्रेसका युवापुस्ताले यो कुरालाई आत्मसात गर्नुपर्छ । बिपी र पुष्पलाल दुबैले आफ्नो समयका समाज र त्यो समाजले निर्धारण गरेको असमानता माथि प्रश्न गरे । हाम्रो पुस्ता माथि त्यसो गर्न नसकेको आरोप छ । हाम्रो समयको समाजले निर्धारण गरेको मुल्य मान्यता माथि प्रश्न गर्न र आगामी यात्रा आजैको धरातलमा उभिएर तय गर्न इतिहासले हाम्रो पुस्तालाई खवरदारी गरिरहेको छ । यो नै आजको यक्ष प्रश्न हो ।

सामन्तवाद बिरोधी संघर्षका स्वप्नद्रष्टा दुइ महान मान्छेहरु बिपी र पुष्पलालप्रति हार्दिक श्रद्धाञ्जली ।

साभार ननस्टप खबर

प्रतिक्रिया