कांग्रेसको गुटको भुङग्रोमा प्रधानमन्त्री ओली

नुवाकोट । विधान अनुसार ०८२ मंसिर भित्र हुनुपर्ने नेपाली कांग्रेसको महाधिवेशन हुने नहुने टुंगो छैन तर महाधिवेशनपछि नेतृत्व हत्याउन कांग्रेस भित्र रस्साकस्सी शुरु भएको छ । तर, त्यसको मारमा परेका छन्—प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली ।

नेतृत्व तहमा रहेका युवा तथा दोस्रो पुस्ताका भनिने कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्मा लगायतका नेताहरुले एकातिर महाधिवेशन तोकिएको समयभित्र हुनु पर्नेमा जोड दिइरहेका छन् भने अर्काेतर्फ सरकार, त्यसमा पनि प्रधानमन्त्री ओलीलाई केन्द्रित गर्दै निरन्तर हमला गरिरहेका छन् । ओली र देउवाको ‘अटुट प्रेम’ चलिरहेको बेला उनीहरुले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउंदै महाधिवेशन समयमै हुनुपर्ने आवाज उठाएर एकतिरले दुई निशाना सांधिरहेका छन् ।
उनीहरुको निरन्तर प्रहारका कारण कतै गठवन्धन नै टुटेर नयाँ सरकार बन्ने त होइन ? भन्ने आशंकालाई बल दिएको छ भने अर्काेतर्फ पार्टीभित्रको शक्ति सन्तुलनमा समेत असर गर्न थालेको चर्चा चलिरहेको छ ।
थापा र शर्मा सरकार विरुद्ध निरन्तर हमलावर भएकै कारण पछिल्लो समय प्रधानमन्त्री ओली रक्षात्मक हुँदै गएका छन् । उनी हरेक विषयमा देउवाको अगाडि निरिह बन्दै गएका छन् भन्ने कुरा एमालेले सम्हालेका मन्त्रालय अन्तरगतका नियुक्तिहरुमा पनि कांग्रेस हावी हुंदै गएको छ भने कांग्रेसले सम्हालेका मन्त्रालयहरुमा एमाले ढिप्किनै नपाउने अवस्था सृजना गरिदैं आएको छ । त्यति हुँदा पनि सरकार ढल्ने आतंकबाट ग्रसित भएर एमाले नेतृत्व चुपचाप बस्न वाध्य भएको छ ।
गत असारमा कांग्रेस–एमाले गठबन्धन सरकार बन्दा शुरुको करिब २ वर्ष ओली र त्यसपछि ०८४ को चुनावसम्म देउवा प्रधानमन्त्री बन्ने सम्झौता गरिएको थियो । त्यो सम्झौताप्रति अहिलेसम्म कांग्रेस भित्रको देउवा पक्ष र एमाले ‘इमान्दार’ देखिए पनि कांग्रेस भित्रको देउवा इतर पक्ष केही समय यता तीब्ररुपमा असन्तुष्ट देखिदै आएको छ । यो समुहको नेतृत्व अहिले शेखर कोइराला र गगन—विश्वप्रकाशले गरिरहेका छन् । अहिले उनीहरुको मुख्य उद्देश्य सरकार ढाल्ने भन्दा पनि पार्टीको महाधिवेशनमा नेतृत्व हत्याउने नै हो भन्ने स्पष्ट छ ।
किनकी अहिले सरकार प्रभावकारी रुपमा संचालन हुन नसक्नुमा प्रधानमन्त्री ओली जति दोषी छन्, लगभग त्यति नै दोषी सभापति देउवा पनि छन् । किनकी अहिलेको सरकारको ‘साँचो’ देउवासंग छ । देउवाले चाहेमा ओलीको ‘दाल गल्ने’ अवस्थै छैन ।
त्यसमाथि दीपक खड्का, ऐनबहादुर शाहीदेखि बद्री पाण्डेसम्मका कांग्रेसकै मन्त्रीहरु विभिन्न काण्डमा मुछिएका छन्, विवादित बनेका छन् । तर, गगन—विश्व प्रकाशसहितका नेताहरु आफ्नो पार्टीका विवादास्पद मन्त्री र उनीहरुका भ्रष्ट कृयाकलापको विरुद्ध पूर्णरुपमा मौन रहेर एकोहोरो प्रधानमन्त्री ओलीमाथि प्रहार गरिरहेका छन् ।
सरकार प्रमुख भएकोले सरकारले गरेका हरेक जस अपजसको जिम्मा प्रधानमन्त्री ओलीले लिनु पर्छ भन्नेमा शंका छैन । तर, आफ्नो मन्त्रीहरुका भ्रष्ट कृयाकलापप्रति मौन रहनुले गगन—विश्व प्रकाशसहितका नेताहरुको ‘राजनीति’ सहजै बुझ्न सकिन्छ ।
विधानतः देउवा अर्काेकालको लागि सभापति बन्न नसक्ने भएपछि उनको उत्तराधिकारी बन्नको लागि कांग्रेसभित्र माथापच्ची चलिरहेको छ । सरकारमाथि आक्रमण गर्दा कांग्रेसका नेता कार्यकर्ताहरुको सहानुभूति बढ्ने,अहिलेकै गठवन्धनलाई निरन्तरता दिन दृढ संकल्पित देउवा पनि कमजोर हुने भएकोले उनीहरु आक्रामक बनेको कांग्रेसकै नेता कार्यकर्ता बताउंछन् ।
देउवा—ओलीले अंकमाल गर्न नछोडुन्जेल गगन—विश्वप्रकाशहरुको आक्रोसका कारण मात्र अहिलेको गठवन्धन ढलिहाल्ने वा नयाँ गठवन्धन बनिहाल्ने अवस्था देखिदैंन । तर, कांग्रेस भित्रको ‘महाधिवेशन मानसिकता’का कारण गगन—विश्वप्रकाश खेमा प्रधानमन्त्री ओलीप्रति थप आक्रामक हुंदै जाने निश्चित छ ।
त्यसले महाधिवेशनसम्म उनीहरुको पार्टी भित्रको शक्ति कति बढ्ला र देउवालाई कुन हदसम्म धक्का दिने हैसियत राख्लान् ? त्यसको लागि भने पर्खनै पर्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया