नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो

विदुर खबर २०८१ कार्तिक ४ गते १०:३७

नुवाकोट । नेपालले आइतबार अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ ।

Advertisement

यससँगै नेपाल तीन खेलको सिरिजमा २–० ले अगाडि रह्यो र त्यसलाई आफ्नो नाममा लेखाउन सफल रह्यो । हारको संघारमा रहेर नेपाल यो खेलमा विजयी रहेको हो । अब सोमबार हुने अन्तिम खेल औपचारिक हुनेछ ।

डलासमा भएको खेलमा नेपालको जितका नायक सोमपाल कामी रहे । उनले सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । उनले चार बलमा दुई विकेट लिए । अन्तिम दुई बलमा लगातार विकेट हात परेको थियो । त्यसमा सयन जहाँगीर र एरोन जोन्स चार बल मात्रै टिके । त्यसपछि सौरभ नेट्राभाल्करको बलमा नेपालका लागि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले चार बलमा तीन रन बनाए ।

Advertisement

यसअघि जितका लागि १ सय ७१ रन पछ्याएको अमेरिकाले आठ विकेटमा १ सय ७० रन मात्र बनाउन सक्यो र यस्तोमा खेल टाई भएको थियो । जसदीप सिंह अन्तिम बलमा रनटआउट भएपछि अमेरिका विजयी रन बटुल्न असफल रह्यो । अमेरिकालाई आन्द्रेस गुसले सर्वाधिक ६२ रन बनाए । उनले ४३ बलमा तीन चौका र चार छकका प्रहार गरे ।

अमेरिकालाई अन्तिम ओभरमा जित्नलाई सात रन चाहिएको थियो । अझ अन्तिम बलमा दुई रन चाहिने स्थिति बनेको थियो, तर त्यसलाई हात पार्न सकेन । अमेरिकाका लागि ओपनर साइतेजा मुखमलले ४१ बलमा ४७ रन बनाए । उनले दुई चौका र तीन छक्का प्रहार गरे ।

Advertisement

नेपाली बलरमध्ये करण केसीले तीन र सोमपाल कामीले दुई विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । नेपालको इनिङ्स कुशल भुर्तेलमा टिकेको थियो र उनले नटआउट रहेर ५४ बलमा ९२ रन बनाए । त्यसमा सात चौका र छ छक्का सामेल थियो ।

नेपालको सुरुवात भने राम्रो रहेन र ११ रनको स्थितिमै ओपनर आसिफ सेखले विकेट गुमाए । उनले एक रन मात्र बनाए । अर्का ओपनर अनिल साहले भने २५ रनको योगदान गरे र त्यसमा दुई चौका र एक छक्का सामेल थियो । त्यसपछि गुल्सन झाले १२ बलमा १९ रन बनाए । उनको ब्याटबाट दुई चौका र एक छक्का निस्केको थियो ।

कप्तान रोहित पौडेलले भने १४ बलमा १८ रनको योगदान गरे । उनले दुई चौका प्रहार गरे । दीपेन्द्रसिंहले दुई रन मात्रै बनाए । अर्का नटआउट ब्याटर करण केसीले ६ रन बनाए । अमेरिकी बलरमध्ये नोसथुस केनजिगे र जसदीप सिंहले दुई/दुई विकेट लिए । नेपाल पहिलो ट्वान्टी-२० १७ रनले विजयी रहेको थियो ।

प्रतिक्रिया