माझिटारमा क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

विदुर खबर २०८१ जेठ ५ गते ११:२८

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा समुदायको नेतृृत्वमा रहेका वर्गहरुलाई क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

Advertisement

नेपाल क्षयरोग निवारण संस्था नुवाकोटको आयोजना तथा विदुर नगरपालिका वडा नम्बर ५ को कार्यालयको व्यवस्थापन तथा समन्वयमा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दे विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले क्षयरोगको उन्मूलन गर्न सर्वप्रथम रोग थाहा पाउनुपर्ने बताए। वडाध्यक्ष न्यौपानेले क्षयरोगको निदानका लागि जनचेतना नै महत्वपूर्ण रहेको भन्दै यसका लागि सरकारका तीनै तह एक आपसमा मिलेर काम गर्नुपर्ने उल्लेख गरे ।

Advertisement

वडाध्यक्ष न्यौपानेले रोग लागेपछि औषधि उपचार गर्नेभन्दा पनि जनचेतना जगाएर रोग नै लाग्न नदिने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । उनले क्षयरोग निर्मुलका लागि सङ्घीय र प्रादेशिक सरकारभन्दा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेकोले सबैसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका क्षयरोग फोकल कृष्ण रिजालले नुवाकोटको विदुर नगरपालिकामा क्षयरोगका विरामीहरु धेरै रहेको जानकारी दिए । उनले पाँच वर्षभित्र विदुर नगरपालिकालाई क्षयरोगमुत्त बनाउन सरकारले ३४ लाख रुपैयाँ विनियोजन गरेको बताए । उनले समुदाययको सहभागितामा क्षयरोगको अन्त्य गर्न सकिने उल्लेख गरे ।

Advertisement

रिजालका अनुसार नुवाकोटमा गत साउनदेखि बैशाखसम्ममा क्षयरोगका एकसय ६२ विरामी देखिएका छन् । जसमध्ये विदुर नगरपालिकामा मात्रै १४ महिला र ३२ पुरुष गरि ४६ क्षयरोगका विरामी जना रहेका छन् । त्यस्तै देशभर हाल ३७ हजार ७ सय ७१ जना क्षयरोगका विरामी रहेका छन् ।

यस्तै कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था नुवाकोटका अध्यक्ष निरनमान डंगोलले विशेष गरि कुपोषित भएका मानिसका साथसाथै एचआईभी संक्रमित र मधुमेहका विरामीहरुलाई क्षयरोग लाग्ने संभावना रहेको बताए । उनले क्षयरोगका विरामीहरुले डाक्टरको सल्लाह अनुसार औषधी सेवन गरेमा निको हुने बताए ।

उनले नेपाल क्षयरोग निवारण संस्था नुवाकोटले जिल्लाको विभिन्न ९ ओटा विद्यालयमा नाटा गठन गरि काम गरिरहेको समेत जानकारी दिए ।उनले  क्षयरोग निर्मुलका लागि स्थानीय तहलाई जिम्मेवार बनाएर रोगको पहिचान गरी उपचारको दायरामा ल्याउने उद्देश्य रहेको बताए ।

नेपालमा सन् २०५० सम्ममा क्षयरोग निर्मुल बनाउने लक्ष्य लिइएको छ । कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया