चिलिमे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी र खुद नाफा घट्यो
नुवाकोट । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ६१ करोड २० लाख रुपैयाँ कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६२ करोड ४८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा न्यून अतिरिक्त विद्युत उर्जा खरिद गरेका कारण कम्पनीको विद्युत बिक्री आम्दानी घट्न पुगेको वित्तीय विवरणमा उल्लेख छ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५.५१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ४० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३७ करोड ९१ लाख रुपैयाँ मात्र नाफा कमाएको छ।
विद्युत बिक्री आम्दानी घटेको र बैंक मौज्दात तथा ब्याजदर घटेर कारण कम्पनीको वित्तीय आम्दानी घटेपछि खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी १०.१५ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ५६ पैसा घटेर ९ रुपैयाँ ५० पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.२० गुणा रहेको छ।
७ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया