फोहाेरको गन्धले ककनीको कृषि उत्पादनमा ह्रास

विदुर खबर २०८० मंसिर १८ गते २०:४६

नुवाकोट । २०६२ सालमा नुवाकोट सिसडोल र ओखरपौवाका स्थानीयहरुले बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा लड्डु खाएर फोहोर विसर्जन गर्न सहमति दिएका थिए ।

Advertisement

१८ वर्ष पहिला एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशामा पूजा गर्दै लड्डु खाएर फोहोर फाल्न दिने सहमति दिएका स्थानीयहरु अहिले फोहोरमा पिल्सिएर बस्न बाध्य भएका छन् । फोहोरले घेरिएको ककनी गाउँपालिका वडा नम्बर १ सिसडोल, वडा नम्बर २ ओखरपौवा र वडा नम्बर ३ चाउथे क्षेत्रका मानिसहरुमा स्वास्थ्य समस्यादेखि खेतबारीमा अनाज उब्जनी समेत हुन छाडेको छ।

त्यस क्षेत्रमा रहेको खेतबारी फोहोरले पुरेको र बाँकी रहेको खेतबारीमा अनाज उब्जनी हुन छाडेको स्थानीयहरुको गुनासो छ । सरकारले फाेहोर विसर्जन गर्न सहमति दिँदा एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै अस्पताल बनाइदिएर फाहोरमा मोहोर बनाउने आशा निराशामा परिणत भएको छ ।

Advertisement

फोहोरको दुर्गन्धको कारण माटोमा अन्न र फलफूल पनि फल्न छोडेको स्थानीय किसानहरुको गुनासो छ । उनीहरुले अन्न उम्रे पनि फल लागेपछि पात र फललाई किराले खाने जस्ता समस्या किसानहरुले भोग्नुपरेको बताए । किसानहरुले फोहोरबाट निस्केको लिच्चड खोलामा मिसिँदा खेतबारीमा उब्जनी हुन छाडेको गुनासो गरे । उत्पादन भएको फलफूल तरकारी समेत फोहोरमा उत्पादन भएको भनेर कसैले किन्न नमान्ने गरेको गुनासो कृषकहरूको छ ।

यस क्षेत्रका किसानहरुले लगाएको अन्नबाली र फलफूलहरुमा किरा र डढुवा लाग्ने गरेको बताउँछन् । ककनी गाउँपालिका चाउथेका स्थानीय कृषक कृष्णहरी ढुङ्गानाले बञ्चरेडाँडामा फालेको फोहोरको दुर्गन्धले ककनी गाउँपालिकाको वडा–१ सिसडोल, वडा–२ ओखरपौवाका साथै वडा–३ चाउथेमा कृषि उत्पादनमा ह्रास आउन थालेको गुनासो गरे । उनले फोहोरको दुर्गन्धले किसानहरुले उत्पादन गरेको कृषिबाली र फलफूलहरुमा किरा लाग्ने गरेको उल्लेख गरे ।

Advertisement

कृषक ढुङ्गानाले किसानहरुले लगाएको आलु, काउली, गोलभेडा र साग जस्ता तरकारी बालीहरुमा किराहरु लागेर बाली नष्ट गर्ने गरेको बताए ।  उनले बिरुवाहरु नै नफस्टाउने समस्या देखिएकाले यो क्षेत्रको अन्नबाली उत्पादनमा समेत धेरै ह्रास आएको दुखेसो गरे । उनले कागती निबुवा जस्ता अमिलो फलफूलमा समेत सेता किराहरु लाग्ने गरेका बताए । उनले फोहोरको असरको कारण कृषि उत्पादनमा विनाश गर्ने मात्रै नभएर पशुपक्षीहरुमा समेत नयाँ–नयाँ रोगहरु निस्कन थालेकाले बस्न सक्ने अवस्था नभएको भन्दै राज्यले बस्ती स्थानान्तरण गर्नुपर्ने माग गरिएको बताए ।

उनले फोहोरको दुर्गन्धले ककनी गाउँपालिकाको सिसडोल, ओखरपौवा र चाउथेमा कृषि उत्पादनमा किरालाग्न थालेको बताए । किसानहरुले लगाएको आलु, काउली, गोलभेडा र साग जस्ता तरकारी बालीहरुमा फोहोरको गन्धले विभिन्न किसिमका किराहरु लाग्न थालेको छ । बिरुवाहरु नै फस्टाउन नसक्ने जस्ता समस्या देखिएकाले यो क्षेत्रको अन्नबाली उत्पादनमा धेरै ह्रास आएको छ । कागती निबुवा जस्ता अमिलो फलफूलमा किरा नलाग्नुपर्ने भए पनि अहिले यो क्षेत्रमा फलफूलमा समेत सेता किराहरु लाग्ने गरेका छन् । कागती, सुन्तला जस्ता फलफूल उत्पादन फोहोरको गन्धले नष्ट भएर गयो । फोहोरको असरको कारण कृषि उत्पादनमा विनाश गरेको छ । पशुपन्क्षीहरुमा समेत नयाँ–नयाँ रोगहरु निस्कन थालेको छ ।’

त्यस्तै त्यस क्षेत्रका अर्का कृषक विश्वनाथ बजगाईंको दुखेसो पनि उस्तै छ । कृषक बजगाईंले पनि सरकारले काठमाण्डौ उपत्यकाको फोहोर वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा मानवीय मात्रै नभएर कृषि उत्पादनमा समेत असर पर्न थालेको बताए । उनले ककनी क्षेत्रमा उत्पादन हुने फलफूल तथा कृषि उत्पादनहरुमा फोहोरको असरले सबैमा किरा लाग्न थालेको  बताए । उनले उत्पादन भएको फलफूलहरु बाहिरबाट हेर्दा राम्रो देखिने तर सुन्तला, ज्यामिर, निबुवा, जुनारमा भित्र किरा लागेर खानै नहुने हुन थालेको भन्दै किसानहरुको महेनत समेत खेर जान लागेको बताए ।

ककनीको फोहोरबाट प्रभावित क्षेत्रका अर्का स्थानीय किसान शिवराम घिमिरेले पनि कृषि उत्पादन अन्नबालीदेखि फलफूलमा विभिन्न रोगहरु लाग्नाले उत्पादन ह्रास आउन थालेको बताए । उनले यो क्षेत्रमा उत्पादन हुने सुन्तला, कागती र मौसमहरुमा किरा लाग्ने थालेको बताए ।  उनले फोहोरको गन्धको कारण कृषिबालीहरुमा ठूलो असर गरेकाले यस्तै रहे यो क्षेत्र उजाड बन्ने अवस्था आउने उल्लेख गरे । उनले सरकारले काठमाण्डाै उपत्यकाले उब्जाएको फोहोरको रोग नुवाकोट ककनीवासीलाई दिने काममा भन्दा पनि वैज्ञानिक व्यवस्थापनको विकल्प खोज्न आवश्यक रहेको बताए ।

ककनीको फोहोरबाट प्रभावित क्षेत्रको कृषि उत्पादन अन्नबालीदेखि फलफूलमा विभिन्न रोगहरु लाग्नाले उत्पादन ह्रास आउन थालेको छ । यो क्षेत्रमा उत्पादन हुने सुन्तला, कागती र मौसमहरुमा किरा लाग्ने थालेको छ । फोहोरको गन्धको कारण कृषिबालीहरुमा यति ठूलो असर गरेको छ भने मानवहरुमा कति असर परेको छ भन्ने विषय मूल्याङ्कन गरेर भन्न सक्ने अवस्था छैन । त्यसैले सरकारले काठमाण्डाै उपत्यकाले उब्जाएको फोहोरको रोग नुवाकोट ककनीवासीलाई दिने काममा भन्दा पनि वैज्ञानिक व्यवस्थापनको विकल्प रोज्न आवश्यक छ ।’

काठमाण्डौ उपत्यकाको फोहाेर सिसडोल र बञ्चरेडाँडामा जथाभावी फालिदिँदा डम्पिङ साइट नजिक मात्र नभएर ककनी गाउँपालिकाको वडा नम्बर १, २, ३ र धुनीबेसी नगरपालिका (धादिङ) को केही वडा बढी प्रभावित भएका छन् । यो क्षेत्रका मानिसहरु बाह्रैमास रुघाखोकी र झाडापखाला र क्यान्सर जस्ता प्राणघातक रोगको शिकार बन्न थालेका छन् ।

त्यसैले फोहोर व्यवस्थापन गर्ने अधिकार प्राप्त निकाय र सरकारको ध्यान वैज्ञानिक फोहोर व्यवस्थापन गरेर वा फोहोरबाट प्रभावित स्थानीयहरुकोहरुको बस्ती स्थानान्तरण गरी न्याय दिनमा जानु जरुरी छ ।

प्रतिक्रिया