नुवाकोटमा तेस्रो दशैँ जिल्लास्तरिय फुटबल प्रतियोगिता शुरु

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ मा शुक्रवारदेखि तेस्रो दशैँ जिल्लास्तरिय फुटबल प्रतियोगिता शुरु भएको छ ।
श्री लामिबगैचा सामाजिक युवा क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन नुवाकोट क्षेत्र नम्बर २ का सांसद अर्जुननरसिंह केसीले गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली लामिबगैचा सामाजिक युवा क्लबले विजयी शुरुवात गरेको छ । घरेलु टोलीले पिपलटार सामाजिक क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दे तीन अंक हात पारेको छ ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै केसीले नुवाकोटमा फुटवल खेलको विकासको लागि यस्ता प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले खेल क्षेत्रमा राज्यले लगानी बढाए खेलाडीहरु व्यवसायिक रुपले खेल खेलेरै आत्म निर्भर हुने बताए ।
कार्यक्रममा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसी, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रमसिंह ठकुरी, बेलकोटगढी नगरपालिकाका उपमेयर शिव प्रसाद दाहाल, विदुर नगरपालिकाका पुर्व मेयर शिवप्रसाद गजुरेल, विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यैपाने, जिल्ला खेलकुद विकास समितिका सभापति सन्तोष राई लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा जिल्लाका विभिन्न १० ओटा क्लबले सहभागिता जनाएका छन् । प्रतियोगिता आगामा कार्तिक ३ गतेसम्म संचालन हुने छ ।
प्रतिक्रिया