डेंगु संक्रमण बढ्यो, १० जिल्ला बढी प्रभावित

विदुर खबर २०८० साउन ३ गते १२:००

नुवाकोट । पछिल्लो समय डेंगु संक्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेंगु संक्रमण उच्च भएको हो।

Advertisement

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता संक्रमण बढेको बताए।उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण संक्रमण दैनिक बढिरहेको छ। पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण  दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए।

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्छ। ती फूल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगु संक्रमण हुन्छ। एक हप्तामा एक हजारभन्दा बढी डेंगुका बिरामी भेटिएका छन्।

Advertisement

महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ संक्रमण भएकोमा साउन १ गतेसम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार ९ सय ३० जनामा डेंगु संक्रमण देखिएको छ।

यस पटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ। कोशी प्रदेशमा एक हजार सात सय ४६, बागमती प्रदेशमा चार सय ६८, सुदूरपश्चिम प्रदेशमा दुई सय ७९, गण्डकी प्रदेशमा दुई सय ६९, लुम्बिनी प्रदेशमा एक सय ३४, कर्णाली प्रदेशमा १८ जना र मधेस प्रदेशमा १६ जनामा सङ्क्रमण देखिएको छ।

Advertisement

नयाँ देखिएका बिरामीमध्ये ८२ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन्। सबभन्दा बढी सुनसरी जिल्लामा एक हजार पाँच सय ७१, धादिङ दुई सय ५६, दार्चुला एक सय ८८, कास्की एक सय ४९, सङ्खुवासभा ५८, काठमाडौँमा ४६, कन्चनपुर ३९, भक्तपुर ३५, म्याग्दी ३५ र झापा ३२ जनामा डेङ्गुका बिरामी भेटिएका छन्।

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ। सम्भव भएसम्म लामखुट्टे भगाउने घुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ।

प्रतिक्रिया