नुवाकोटबाट वैदेशिक रोजगारीमा जानेको संख्या ८ हजार पुग्यो
नुवाकोट । नुवाकोटबाट वैदेशिक रोजगारीमा जाने बढेका छन् ।
आर्थिक वर्ष ०७८/७९ जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या ८ हजार ४ सय २० जना पुगेका छन् । वैदेशिक रोजगारीमा जाँदा सिप, कानुनी प्रक्रिया अपनाएर जान र सचेत गराउन थालिएको छ । त्यसका लागि अपनाउनुपर्ने विषयका बारेमा विहिबार आयोजित सुरक्षित वैदेशिक रोजगारका विषयमा जिल्लातहका संचारकर्मीसंग अन्तरक्रियामा उक्त जानकारी दिएको हो ।
वाग्मती प्रदेशबाट मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृत लिनेको संख्या ९१ हजार ५ सय १० जना रहेका छन् । रोजगारका लागि दिनानुदिन वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि उनीहरुलाई सिप विकास, कानुनी विधि प्रक्रिया अपनाएर सुक्षित रोजगारीमा जानुपर्ने विदुर नगरपािलकाका मेयर राजन श्रेष्ठले बताए ।
देशभरि सिप सिकेर जाने ३८ प्रतिशत छ । सिप नसिकेका ५४ प्रतिशत रहेको कार्यक्रममा बताइएको थियो । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकार बीच भएको व्दिपक्षीय संझौता अनुसार वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजनामा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र नुवाकोटमा संचालित छ । ०७२ सालदेखि जिल्लाका विदुरनगरपालिका, बेलकोटगढी नगरपालिका, लिखुगाउँ पालिका र शिवपुरी गाउँपालिकामा कार्यक्रम लागू गरिएको छ । भिजिट भिसा र अध्ययन गर्न जानेको संख्या नुवाकोटमा बढिरहेको स्वीस अन्तर्गत हेल्वेटासका कार्यक्रम अधिकृत भागीराम थारुले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै बताए ।
उनका अनुसार वैदेशिक रोजगारमा गएकाहरु दैनिक ४–६ जनाको शव आउने गरेको समेत जानकारी दिए । विदेश जान सही सूचना र सिप लिएर मात्रै वैदेशिक रोजगारीमा जान उनले सुझाव दिए ।
कानुनी प्रक्रिया नबुझेर विदेशमा रोजगारगारीमा जाने क्रम बढ्दै गएको विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले बताए । वैदेशिक रोजगारीले आव ०७८/७९ मा १० खर्ब ७ अर्व रेमिट्यान्स देशमा भित्रेपनि सुरक्षित र दक्ष जनशक्ति अभाव कायमै रहेको कार्यक्रममा जानकारी दिइयो । नेपालबाट दैनिक २५ सय जना वैदेशिक रोजगारमा जाने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गत साउनदेखि फागुनसम्ममा ९ हजार ६६ जनाले राहदानी आवेदन संकलन गरेको छ । गएको ८ महिनामा ८ हजार ४ जनालाई राहदानी वितरण गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । राहदानी वितरण हुन बांकी साढे ५ हजार रहेको छ ।
नागरिकले दक्ष, कानुनी प्रक्रिया बुझेर व्यवस्थित, भरपर्दो र सुरक्षित भएर वैदेशिक रोजगार अपनाउनु पर्ने प्रजिअ थापाले बताए ।
प्रतिक्रिया