मेस्सी र अल्भारेज चम्कदा अर्जेन्टिना विश्वकपको फाइनलमा
एजेन्सी । साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
दोहाको लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेजले दुई गोल गरे । कप्तान लियोनल मेस्सीको नाममा एक गोल रह्यो ।
खेलको ३४ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।
विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल हो । मेस्सीले गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हुन् । मेस्सीले यस खेलबाट विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानमा समेत बराबरी गरेका छन् ।
मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबर गरेका हुन् । खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए । काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एकल प्रयासमा गोल गरे ।
त्यसपछि खेलको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० गोलको सहज जित दिलाए । उनले मेस्सीले उपलब्ध गराएको सुन्दर पासमा सहजै गोल गरे ।
दुई पटकको च्याम्पियन अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । यस हारसँगै क्रोएसियाको विश्वकप यात्रा भने टुंगिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया