संसद छिर्ने व्यवसायी बढ्दो

विदुर खबर २०७९ मंसिर १३ गते १२:५८

नुवाकोट । चुनावी खर्च महँगो हुँदै गर्दा राजनीतिज्ञहरू नै प्रत्यक्ष चुनावमा जान डराउन थालिसके । यसैकारण पनि हालै सकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दलहरुबाट धेरै उद्योगपति र व्यवसायीहरुले टिकट हत्याए र थुप्रैले बाजी जिते पनि ।

Advertisement

पछिल्ला संसदीय चुनावहरुबाट ‘राजनीतिज्ञ’का रुपमा व्यवसायीहरु संसद पुग्ने क्रम बढेकै थियो । तर, त्यस्तो प्रवृत्तिको आलोचना धेरै हुन थालेपछि यसपटक धेरै व्यवसायीहरु प्रत्यक्ष चुनाव लड्न गएका थिए । १५८ निर्वाचन क्षेत्रको नतिजा आइसक्दा संसदीय चुनावमा त झण्डै ३ दर्जन उद्योगी–व्यवसायी प्रत्यक्ष चुनावबाटै संघीय सांसदमा जनअनुमोदित भएका छन् । यसमा धेरैजसो राजनीति र व्यवसायलाई सँगसँगै अघि बढाएकाहरु छन् ।

व्यवसायीहरु संसदमा पुग्नु नौलो नभएपनि नीति निर्माण तहमा प्रत्यक्ष संलग्न हुने गरी सांसद बनेपछि आफूले सम्हालेका व्यवसायिक जिम्मेवारी त्याग्ने अन्तर्राष्ट्रिय अभ्यासहरु छन् । तर, विगतबाटै नेपालका यस्तो अभ्यास कमजोर छ । सांसद पनि रहने र व्यवसायिक जिम्मेवारीहरु नत्याग्ने प्रवृत्तिले स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सिर्जना भएर संसदले बनाउने कानुनहरु सम्बन्धित क्षेत्रका व्यवसायमा संलग्न सांसदहरुको ‘स्वार्थ’मा समेत बनेका उदाहरण नेपालमा प्रशस्तै छन् ।

Advertisement

नेपालमा संसदीय मामिलामा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’काबारे अनुसन्धान गरेका किरण चापागाईं सांसदहरुले आफ्नो व्यावसायिक स्वार्थ बाझिन सक्ने ठाउँ यहाँ–यहाँ छ भनेर घोषणा गर्ने प्रावधानकै खाँचो देख्छन् । ‘स्वार्थ हुने ठाउँबाट संलग्नता त्याग्दै त्यस्ता ठाउँको स्वामित्व र सेयरहरू अन्यलाई हस्तान्तरण गरेमा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को अवस्था हुँदैन,’उनी भन्छन् ।

चुनाव लड्न र जित्न पाउनु योग्य नागरिकको राजनीतिक अधिकार भएपनि स्वार्थको व्यवस्थापन नगरिए संसदबाट बन्ने कानुनहरु स्वार्थप्रेरित बन्ने जोखिम रहेको चापागाइँ निचोड छ । ‘सांसद बनेपछि कुनै व्यवसायिक ग्रुपको ग्रुपको अध्यक्ष रहेकाहरुले अब छोड्नुपर्यो,’ उनी भन्छन्,‘आफ्नो स्वार्थ बाझिने विषय यी–यी भनेर आफैंले घोषणा गर्नुपर्छ र त्यस्ता विषयमा अलग रहनुपर्छ ।’

Advertisement

विशेष अदालतका पूर्वअध्यक्ष तथा पूर्वन्यायाधीश गौरीबहादुर कार्की व्यवसायीहरूले राजनीतिज्ञ र सत्ताधारीको भूमिकामा आउनुअघि नै आफ्ना व्यावसायिक जिम्मेवारी छोड्नुपर्ने बताउँछन् ।

‘राजनीति गर्ने हो भने आफ्नो पेशा व्यवसाय छोडेर सेवाभावले राजनीति मात्रै गर्छु भन्नु पर्छ’ उनी भन्छन्, ‘व्यापारीहरु आफ्नो उद्योग धन्दा व्यवसायलाई मलजल गर्ने उद्देश्य राखेर राजनीतिमा आउनु हुँदैन ।’

यस्ता विषयमा विज्ञहरुले पटक–पटक आवाज उठाएपनि नेपालमा स्वार्थको संघर्षसम्बद्ध कानून, विधि र पद्धति छैन । स्वार्थको द्वन्द्व हुने निर्णयलाई नियमन गर्ने निकाय र संयन्त्र पनि नभएकाले यो विषय अहिलेसम्म नैतिक मात्रै बन्न पुगेको छ । यसले उद्योगी–व्यवसायी जनताबाट चुनिएर संसदमा आउँदा पनि अशंका गर्ने ‘स्पेस’ बनेको छ ।

उद्योगीहरु पनि सांसद

पछिल्लो समयमा राजनीतिक दलहरुमा ठूला उद्योगी–व्यवसायीको पकड बढ्दै गएको छ । चुनावबाट तीनै व्यापारीहरु प्रत्यक्ष रुपमै चुनिएर आएका छन् ।

प्रत्यक्ष चुनावमै जनताले विश्वास गरेर जिताएको व्यवसायीमध्ये सबैभन्दा धनाढ्य हुन्, विनोदकुमार चौधरी । चौधरी ग्रुप तथा सीजी कर्प ग्लोबलका अध्यक्ष समेत रहेका नेपालका एक मात्रै डलर अर्वपति चौधरी नवलपरासी पश्चिम–१ बाट निर्वाचित भएका छन् ।

चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाए ।

चौधरी यसअघि नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद थिए । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको नेतृत्व गरिसकेका ६७ वर्षीय चौधरी को १.५ बिलियन डलर (१ खर्ब ९८ अर्ब रुपैयाँ) सम्पत्ति रहेको विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने फोब्र्स म्यागजिनले जनाएको छ ।

विनोदकुमार चौधरी

उनी मातहत १६० कम्पनी छन्, १२३ वटा ब्रान्ड चौधरीको व्यवसायमा जोडिएका छन् । ५ वटै महाद्वीपका २७ देशमा चौधरी ग्रुपको उपस्थिति छ । चाउचाउको विश्व बजारमा चौधरीको वाइ–वाइ ब्रान्डको २.६ प्रतिशत हिस्सा छ । उद्योग, व्यापार, पर्यटन, शिक्षा, मनोरञ्जन, वित्त, सञ्चार र निर्माण क्षेत्रमा लगानी गरेका चौधरी यसपटक जनताबाटै प्रत्यक्ष चुनिएर सांसद प्रवेश गर्दैछन् ।ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका उदयशमशेर राणा पनि व्यवसायमा संलग्न छन् । हस्तकला व्यवसायसँगै राजनीतिक यात्रा गरिरहेका राणाले २३ हजार ९९२ मत पाएर नेकपा एमालेका नवराज सिलवाललाई हराएर सांसदको ढोका खुला गरेका हुन् ।

काठमाडौं–७ बाट ८ हजार ७४३ मतसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली पनि व्यवसायी नै हुन् । पराजुली हस्तकलासहित निर्यातजन्य वस्तुहरुको उत्पादन गर्छन् । उनले काठमाडौंमा हिमालयन ह्यान्डिक्राफ्ट इण्डष्ट्रिज चलाइरहेका छन् ।

पर्सा–३ बाट निर्वाचित राजकुमार गुप्ता पनि वीरगञ्जका चर्चित व्यवसायी नै हुन् । कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १५१ मतले पराजित गर्दै सांसद बनेका गुप्ता भाँडाकुँडा बनाउने स्टिल उद्योग चलाउँछन् ।

मकवानपुर–१बाट सांसद चुनिएका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह पनि व्यवसायी नै हुन् । २७ हजार ८१६ मत प्राप्त गररेर कांग्रेसकी महालक्ष्मी डिना उपाध्यायलाई हराएका उनी स्क्राप (कवाडी) व्यवसायी हुन् । त्यसबाहके उनको तार जाली उद्योगमा समेत लगानी छ ।

निर्माण व्यवसायीको बोलवाला

विगतकै शैलीमा थुप्रै निर्माण व्यवसायीहरु पनि संघीय संसदमा चुनिएका छन् । विशेषगरी संसदको विकास तथा प्रविधि समितिमा बस्ने र सार्वजनिक खरिद ऐन र नियमावलीको संशोधनमा भूमिका खेल्ने गरेकाहरु नै यसपटक सांसदमा दोहोरिएका छन् ।

रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका मोहन आचार्य निर्माण व्यवसायी हुन् । २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए । आचार्यको रसुवा कन्स्ट्रक्सन नेपालको ‘क’ वर्गमा रहेको निर्माण कम्पनी हो ।

धादिङ–१बाट निर्वाचित बाग्मती प्रदेशका मुख्यमन्त्री तथा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेको काठमाडौंको मनमोहन मेडिकल कलेजमा लगानी छ । पाण्डे ३५ हजार ९३४ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठी २७ हजार ९५३ मत मात्रै पाए । निर्वाचित पाण्डेले धादिङका क्रसर उद्योगमा समेत छोराका नाममा लगानी गरेका छन् ।

 

प्रतिक्रिया