नुवाकोटमा ६ पदका लागि ६६ जनाको उम्मेदवारी
नुवाकोट । नुवाकोटमा प्रतिनिधिसभा र प्रदेशसभा गरी जम्मा ६ पदका लागि ६६ जनाले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दर्ता गराएका ६६ जना उम्मेदवारविरुद्ध हालसम्म कसैले पनि उजुरी दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी निर्वाचन क्षेत्र नं. १ मा पनि कुनै उजुरी नआएको निर्वाचन अधिकृत टेकराज भुसालले बताए ।
मंगलबार उम्मेदवारको नामावली प्रकाशन गर्ने, बुधबार उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ । नुवाकोटमा २ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ मा १८ र निर्वाचन क्षेत्र नं. २ मा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं.१ को १ मा ७, १ को २ मा १० जना रहेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ को १ मा १३ जना र २ को २ मा ७ जनाले उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पूर्वमन्त्रीदेखि पर्यटन व्यवसायीसम्मले उम्मेदवारी दिएका छन् ।
गठबन्धनबाट निर्वाचन क्षेत्र नं. १ बाट माओवादी केन्द्रका पूर्वमन्त्री तथा निवर्तमान सांसद हितबहादुर तामाङ, एमालेबाट बद्री मैनाली, राप्रपाबाट सुदर्शन सिटौला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रद्युम्न महतलगायतले प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी दिएका छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ बाट गठबन्धनबाट पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, एमालेका नारायणप्रसाद खतिवडा, राप्रपाबाट झनक प्याकुरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमनविक्रम पाण्डे, स्वतन्त्रबाट ३ जनासहित अन्य पार्टी चुनावी मैदानमा छन् ।
त्यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को १ बाट गठबन्धबाट माओवादी केन्द्रकी राधिका तामाङ, एमालेबाट सुशील खड्का, राप्रपाबाट रामु पण्डितलगायतले उम्मेदवारी दिएका छन् । त्यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को २ मा गठबन्धनबाट नेपाली कांग्रेसबाट रमेश महत, एमालेबाट पूर्णलाल श्रेष्ठ, राप्रपाबाट विमल थापालगायत छन् ।
त्यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ को १ बाट कांग्रेसबाट गीता अमात्य, एमालेका केशवराज पाण्डे, नेकपा एकीकृत समाजवादीबाट पूर्वसांसद राजेन्द्रप्रकाश लोहनी, माओवादी केन्द्रबाट रामप्रसाद ढुंगाना, राप्रपाबाट दीपेश लामा, नेपाल मजदुर किसान पार्टीबाट श्याम लामा, स्वतन्त्रबाट ३ जना रहेका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ को २ मा नेपाली कांग्रेसबाट पूर्वसांसद बहादुरसिं लामा तामाङ, एमालेबाट विजयसिं लामा, माओवादी केन्द्रबाट राममाया बोगटी, राप्रपाबाट रणप्रसाद न्यौपाने, हाम्रो नेपाली पार्टीबाट बसन्त सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनबाट दिलमान तामाङ र स्वतन्त्र मिगराज लामा रहेका छन् ।
नुवाकोट निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा र प्रदेशसभा गरी ३५ जना र निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा र प्रदेशसभा गरी ३१ जना रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया