१ लाख १५ हजारले बुझाएनन् चुनावी खर्च
नुवाकोट । स्थानीय तह निर्वाचन भएको तीन महिनासम्म पनि १ लाख १५ हजार १ सय ३१ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।
निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र उम्मेदवारले खर्चको बिल भर्पाइ पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । वैशाख ३० मा भएको निर्वाचनमा पालिकाहरूको अन्तिम परिणाम फरक–फरक समयमा आएको थियो ।
देशभरिबाट २१ हजार २ सय ३० जना (१५ प्रतिशत) उम्मेदवारले मात्रै खर्च सीमाभित्रको बिल भर्पाइ समयमा बुझाएका छन् भने ८ हजार ६ सय ५२ जनाले नतिजा सार्वजनिक भएको ३० दिनपछि खर्च विवरण बुझाएका छन् । विवरण नबुझाउने र समय सकिएपछि बुझाउने एउटै भएको आयोगको ठहर छ ।
निर्वाचन आयोग ऐनमा उम्मेदवारले खर्च विवरण नबुझाएमा ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । ऐनको दफा २६ को उपदफा २ मा भनिएको छ, ‘निर्वाचन खर्चको विवरण पेस नगरेमा वा पेस भएको विवरणमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानुनी प्रयोजनका लागि गैरकानुनी तवरले खर्च गरेको देखिएमा आयोगले त्यस्तो राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको खर्च बराबरको रकम वा पाँच लाख रुपैयाँमध्ये जुन बढी हुन्छ, सो बराबरको रकम जरिवाना गर्न सक्नेछ ।’
कानुनमा तोकिएको ६ महिनासम्म जरिवाना नतिरेमा ६ वर्षसम्म उम्मेदवार हुनै नपाउने कानुनी व्यवस्थासमेत छ । ‘जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुने गरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ,’ ऐनको दफा २६ को उपदफा ३ मा उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया