बालाजु-पीपलटार सडक तत्काल निर्माण गर्न निर्देशन
नुवाकोट । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले देशको उत्तरी नाकाबाट राजधानी जोड्ने बालाजु-रानीपौवा-पीपलटार सडक तत्काल निर्माण तथा स्तरोन्नति गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले भारतको एक्जिम बैंकको सहयोगमा निर्माणाधीन नुवाकोट जिल्लाअन्तर्गत बालाजु-रानीपौवा र रानीपौवा-पीपलटार सडक खण्ड ठेक्का रद्द भई निर्माण अवरुद्ध भएकोले जनाउँदै निर्माण कार्य तत्काल अगाडि बढाउने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
मित्रराष्ट्र भारतको एक्जिम बैंकको सहयोगमा निर्माणाधीन नुवाकोट जिल्लाअन्तर्गत बालाजु-रानीपौवा र रानीपौवा-पीपलटार सडकखण्ड स्तरोन्नतिको कार्य गर्दा साविकमा भएको पिच तथा ड्रेनहरु भत्काई डोजर लगाई क्षतविक्षत बनाई हालसम्म सम्पन्न नभएको विषयलाई ध्यानमा राखि समितिको मिति २०७८/१०/२८ गतेको बैठकबाट गुणस्तरयुक्त र समयमा सम्पन्न गर्न निर्देशन भइसकेको थियो,’ समिति सभापति कल्याणी खड्काले भनिन्, ‘हाल सडकको ठेक्का रद्द भई निर्माण कार्य अवरुद्ध भएको सन्दर्भमा देशको उत्तरी नाकाबाट राजधानी जोड्ने त्यस्तो महत्त्वपूर्ण सडक निर्माणको कार्य तत्काल अगाडि बढाउने आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’
उक्त सडकखण्डको दूरावस्थ भएको भन्दै नुवाकोटबाट प्रतिनिधिसभा सदस्य रहेका नेताहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।
वर्षौंअघिदेखि ट्र्याक खोलिएको पासाङ ल्हामुमार्गअन्तर्गत यो सडकलाई चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छैन । नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले राजमार्ग स्तरोन्नति कोषमा रहेको बजेटबाट भए पनि व्यवस्था गरेर निर्माण अगाडि बढाउनु पर्ने आइतबारको संसद् बैठकमा माग उठाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया