टोखा-छहरे सुरुङ निर्माण छिट्टै अघि बढाइयोस्’ : तामाङ

विदुर खबर २०७९ साउन ८ गते २१:४०

नुवाकोट । नुवाकोटका सांसद हितबहादुर तामाङले टोखा–छहरे सुरुङ निर्माण सक्दो छिटो अघि बढाउन माग गरेका छन् ।

Advertisement

प्रतिनिधिसभा बैठकको विशेष समयमा आइतबार धारणा राख्दै सांसद तामाङले सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको छहरे-टोखा सुरुङमार्ग निर्माणको विषय बजेटमा कटौती हुँदा नुवाकोटवासी जनता निराश भएको दाबी गरे । नेपालको समृद्धिका लागि एउटा बलियो पूर्वाधार छहरे-टोखा सुरुङ निर्माणमा लाग्न उनले सरकारको ध्यानाकर्षणसमेत गराए ।

‘आव ०७९/८० मा सुरुङमार्ग निर्माण नै अघि बढाउने गरी राम्रो बजेटको व्यवस्था हुने आशा गरेको थिएँ, नुवाकोट जिल्लावासीले पनि त्यही अपेक्षा गरेका थिए ।

Advertisement

नीति कार्यक्रममा उल्लेख भई आएको पनि थियो । तर बजेटमा आइदिएन । यसले आमजनतालाई निराश मात्र तुल्याएको छ,’ पूर्वमन्त्री तामाङले भने, ‘त्यसैले छिटोभन्दा छिटो टोखा–छहरे सुरुङ मार्ग निर्माण अघि बढाइयोस् । र, चीनसँग आर्थिक, सामाजिक एवं सांस्कृतिक सम्बन्ध थप सुदृढ गरी नेपालको समृद्धिको लागि एउटा बलियो पूर्वाधार तयार गर्न लागियोस् ।’

बालाजुदेखि पीपलटारसम्म पासाङ ल्हामु सडक अस्तव्यस्त रहेको उल्लेख गर्दै सांसद तामाङले यसमा पनि तत्काल बजेट छुट्याएर स्तरोन्नति गराउन माग गरे । ट्र्याक खोलेको वर्षौं भए पनि यो सडक आव २०७९/८०को विनियोजन विधेयकमा बजेट नपर्नु दु:खद रहेको उनको भनाइ छ। राजमार्ग स्तरोन्नति एवम् पुनःस्थापना शीर्षकअन्तर्गत रकम जुटाएर भए पनि निर्माण अघि बढाउनुपर्नेमा उनको जोड छ ।

Advertisement

‘मैले त्यस सडक निर्माणलाई अगाडि बढाउने सम्बन्धमा केही दिनअघि मन्त्रालयका सचिव र अन्य विभागीय प्रमुखहरुसँग भेटको थिएँ । त्यस क्रममा उहाँहरु सकारात्मक देखिनुहुन्थ्यो । विभागीय मन्त्री र अर्थ मन्त्रलाय सकारात्मक हुने हो भने राजमार्ग स्तरोन्नति एवम् पुनःस्थापना शीर्षकअन्तर्गत रकमको व्यवस्थापन गरी पुनः टेण्डर आह्वान गरी निर्माण कार्यई अगाडि बढाउन सकिन्छ भन्ने थियो । तसर्थ सम्मानीय सभामुखमार्फत माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री र अर्थमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

प्रतिक्रिया