सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न मन्त्री यादवको निर्देशन
नुवाकोट । सार्वजनिक यातायातको भाडा समायोजन तत्काल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले सचिव रविन्द्रनाथ श्रेष्ठ लाई निर्देशन दिएकी छन्।
यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा समायोजनसम्बन्धी समितिले यातायातको भाडा ११ प्रतिशतले बढाउन गरेको प्रतिवेदन मन्त्रालयमा पेश गरेको थियो।
समितिका संयोजक तथा यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलले विभागका महानिर्देशक नमराज घिमिरेलाई भाडा बढाउन सिफारिस सहित प्रतिवेदन बुझाएका थिए। त्यसपछि वैज्ञानिक भाडा समायोजनको प्रस्ताव घिमिरेले मन्त्रालयमा पेश गरेका थिए।
मन्त्रालयमा पेश भएको भाडा समायोजन सम्बन्धी प्रतिवेदनमा सोमबार मन्त्री, सचिव र महासंघको अध्यक्षसहितको पदाधिकारीहरुले भाडा समायोजन सम्बन्धमा छलफल गरेका हुन्। यसै क्रममा मन्त्री रेनुकुमारी यादवले तुरुन्तै भाडा समायोजन गर्नको लागी सचिवलाई निर्देशन दिएकी हुन्।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले पनि सार्वजनिक भाडा समायोजनको कुरा टुङ्गो लागेको बताएका छन्। उनले सोमबार भएको छलफलमा मन्त्री यादवले सचिवहरुलाई तत्काल वैज्ञानिक भाडा समायोजन गर्न निर्देशन गरेको बताए। ‘आज बाट हाम्रो माग पूरा भएको छ। अब सार्वजनिकको भाडा प्रस्ताव गरिए बमोजिम समायोजन हुने भएको छ,’ उनले भने।
पछिल्लो समय इन्धनमा बढेको मूल्यका कारण यातायात व्यवसायीले भाडा समायोजन गर्न सरकारसँग माग गर्दै आएका छन्। अध्ययन अनुसार १३ वटा इन्डिकेटरलाई आधार मानेर भाडा समायोजन गर्न लागिएको छ। यसमा यातायात व्यवसायी पनि सहमत भइसकेका छन्।
२०७८ असार २७ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाएयता डिजल र पेट्रोलको मूल्य पटकपटक बढ्दै आएको छ। २७ असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेका थिए।
असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२१ र डिजल १०४ रुपैयाँ प्रतिलिटर थियो। वैज्ञानिक भाडा समायोजन गर्ने सूत्रमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत छ। ६५ प्रतिशत बाँकी अवयवहरुलाई आधार मानिन्छ। हाल पेट्रोलको मूल्य बढेर १५५ रुपैयाँ र डिजलको १३८ रुपैयाँ पुगिसकेको छ।
सवारीसाधनमा काम गर्ने स्टाफको तलब सुविधा,कर, वार्षिक बीमा प्रिमियम, मर्मतसम्भार खर्च, ब्याजदर, ब्याट्रीको मूल्य ह्रास, अन्य खर्च, इन्धन, टायर, लुब्रिकेन्टलगायतका १३ इन्टिकेटरलाई आधार मानिएको छ। विभागले २०६५ मा फागुनमा पहिलोपटक वैज्ञानिक भाडादर कायम गरेको थियो।
कानुनअनुसार पेट्रोल र डिजलको मूल्यमा ५ रुपैयाँ घटबढ भएमा भाडादर समायोजन गर्नुपर्ने हुन्छ।
निर्देशक पौडेलका अनुसार स्थानीय रुटको भाडादर समायोजन सम्बन्धी अधिकार प्रदेशहरुमा रहेकाले एक प्रदेशबाट अर्को प्रदेशमा जाने ट्रक, सार्वजनिक र अन्य सवारीसाधनको भाडादर समायोजनका लागि सिफारिस गरिएको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया