दुई वर्षमा पेट्रोलको मूल्य ५० प्रतिशत बढ्यो

विदुर खबर २०७८ फागुन १९ गते १६:३४

नुवाकोट । नेपाल आयल निगमले दुई वर्षको दौरानमा पेट्रोलियम पदार्थको मूल्यमा झन्डै ५० प्रतिशतले मूल्य वृद्धि गरेको छ । 

Advertisement

२०७७ साल जेठ १६ मा ९६ रुपैयाँमा रहेको पेट्रोलको मूल्य अहिले २०७८ फागुन महिनामा आउँदा झन्डै ५० प्रतिशतले बढेर अहिले प्रति लिटर १ सय ४५ रुपैयाँ पुगेको छ । त्यसैगरी, २०७७ जेठमा ८५ रुपैयाँ रहेको डिजेलको मूल्य अहिले बढेर १ सय २८ रुपैयाँ पुगेको छ ।

नेपाल आयल निगमबाट सहप्रवक्ता पुष्कर कार्कीका अनुसार भारतीय आयल निगमले निगमलाई नयाँ मूल्य सुची पठाएको छ । सो मूल्य सुची अनुसार निगमको पाक्षिक घाटा ३ अर्ब ९ करोड १२ लाख रुपैयाँ हुनेछ । भारतले पठाएको नयाँ मूल्य सुची अनुसार पेट्रोल १६५.५२, डिजेल १४४.०८, मट्टितेल ११३.३३ र एलपी ग्यास २२४०.३४ पैसा रहेको छ ।

Advertisement

यस मूल्य सुची अनुसार निगमलाई पेट्रोलमा २०.५२ रुपैयाँ, डिजेलमा १६.०८ रुपैयाँ, मटितेलमा १४.६९ र एलपी ग्यासम ६६५.३४ रुपैयाँ घाटा रहेको छ । निगम स्रोतका अनुसार आज वा भोली नै निगमले सञ्चालक समितिकाे बैठक बसेर पेट्रोलियम पदार्थका मूल्य समायोजन गर्नेछ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएसँगै आन्तरिक बजारमा पनि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको हो । विशेषगरी कोरोना संक्रमणका कारण लडडाउन भएर सम्पूर्ण यातायातका साधनहरु नै ठप्प भएर पेट्रोलियम पदार्थको माग कम हुँदा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै न्यून विन्दुमा पुगेको थियो ।

Advertisement

सन् २०२० को अप्रिल २० मा कच्चा पेट्रोलियम पदार्थको मूल्य २०.६७ डलरसम्म पुगेको थियो । कोरोना संक्रमणको महामारी विस्तारै कम हुँदै जाँदा पेट्रोलियम पदार्थको मूल्य पनि विस्तारै बढ्दै गयो । केही महिना अगाडिसम्म प्रति ब्यारेल ८०–९० डलरमा कारोबार भइरहेको कच्चा तेलको मूल्य फेब्रुअरीको अन्तिम समय र मार्च लाग्दा बढेर १ सय डलर नाघिसकेको छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २० डलर पुग्दा स्थानीय बजारमा पेट्रोलको न्यूनतम मूल्य प्रति लिटर ९६ रुपैयाँ थियो भने अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ सय डलर माथि पुग्दा नेपाली बजारमा पेट्रोलको मूल्य १ सय ४५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एकदमै घट्दा पनि निगमले नेपालमा पेट्रोलियम पदार्थको भाउ घटाएन भने अहिले न्यून विन्दु भन्दा ५ गुणा बढीले बढ्दा पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य करिब ५० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया