नुवाकोटको सबै वडामा कांग्रेसले मेलमिलाप दिवस मनायो
नुवाकोट । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोट र उसका भ्रातृ संगठनले ४६ औं एकता तथा मेलमिलाप दिवस बिभिन्न कार्यक्रम गरी जिल्लाको ८८ वट्टै वडामा भव्य रुपमा मनाएका छन् ।
कांग्रेसका जिल्ला प्रतिनिधि, क्षेत्र प्रतिनिधि, प्रदेश प्रतिनिधि र नगर प्रतिनिधिको उपस्थितिमा जिल्लाको ८८ वट्टै वडामा मेलमिलाप दिवस मनाइएको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महतले जानकारी दिए ।
तादी गाउँपालिका वडा नम्बर ५ र ६ ले संयुत्त रुपमा आयोजित मेलमिलाप कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महतले विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिअनुसार नै कांग्रेस अघि बढिरहेको बताए ।
उनले कांग्रेसभित्र मात्र नभएर समग्र मुलुकमा वीपीको योगदान अविस्मरणीय रहेको उल्लेख गरे । जिल्ला सभापति महतले हिंसामा विश्वास नराख्ने वीपीको राष्ट्रिय एकता तथा मेलमिलाप भावनाले सबैलाई एकसूत्रमा बाँधेको समेत बताए ।
नेपालको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसले जननेता वीपी कोइरालाको मेलमिलाप र एकताको नीतिको सम्झना गर्दै हरेक बर्ष पुस १६ गते यो दिवस मनाउने गर्दछ ।
प्रजातन्त्र स्थापनाको लागि संघर्षरत वीपी कोइरालालाई तत्कालीन राजा महेन्द्रले मृत्युदण्डको सजायँ सुनाएपछि वीपी लगायतका कांग्रेस नेताहरु २०२५ सालमा भारत प्रवासमा गएका थिए । ८ बर्षको प्रवास जीवन त्यागेर कांग्रेस नेताहरु विक्रम संवत २०३३ साल पुस १६ गते राष्ट्रियता जोगाउन मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।
कोइरालाले नेपालका राजनीतिक दल र राजा मिलेर राष्ट्रियताको रक्षा गर्नुपर्ने अवधारणा अघि सारेका थिए । मेलमिलापको नीति लिएर वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु स्वेदश फर्किए पनि तत्कालीन राजा महेन्द्रले उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्रेर जेल चलान गरेका थिए ।
राष्ट्रियता जोगाउन सबै पक्षबीच मेलमिलाप र एकताको आवश्यकता औंल्याएका वीपीको सिद्धान्तलाई कांग्रेसले पछिल्ला दिनहरुमा भूल्दै गएको कांग्रेस नेताहरुले नै बताउने गरेका छन ।
यसैबिच नेपाली कांग्रेस नुवाकोटले ४६ औं एकता तथा मेलमिलाप दिवसको अवसर पारेर त्रिशुली अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया