तिहार नजिकिएसँगै उपभोग्य बस्तुको भाउ मंहगियो

विदुर खबर २०७८ कार्तिक १४ गते २०:०५

नुवाकोट । तिहार नजिकिएसँगै दैनिक उपभोग्य बस्तुको मूल्य आकासिन थालेको छ ।

Advertisement

तिहारको समयमा बिभिन्न किसिमका परिकार बनाउन अत्याधिक प्रयोग हुने एलपी ग्यासको मूल्य सरकारले बढाएर १५ सय रुपैयाँ पुर्याएको छ । गत शुक्रबार रातिदेखि लागु हुनेगरी एकै पटक प्रतिसिलिन्डर ५० रुपैयाँले बढाएर १५ सय रुपैयाँ पुर्याएको हो ।

ग्याससँगै तरकारीको मूल्य पनि अत्याधिक बढ्न पुगेको छ । काउली, प्याजलगायतका तरकारीको भाउ अत्याधिक बढेको छ । प्याज किलोमा २० रुपैयाँ भन्दा बढीले बढेको छ ।

Advertisement

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार अघिल्लो महिनाको तुलनामा कात्तिकमा प्याजको मूल्य २० रुपैयाले बढेको छ ।

कात्तिक १४ गते कालिमाटी बजारमा प्याज थोक मूल्य ६२ रुपियाँ तोकिएको छ । जबकि करिव डेढ महिना पहिले अर्थात असोज १ गते ४० रुपैयाँ प्रति किलोमा बिक्री भएको भएको थियो । अहिले उपभोक्ताले प्याज काट्दा मात्रै होइन, प्याजको मूल्य सुन्दा पनि आखाँबाट आसुँ खसाल्ने अवस्था आएको छ ।

Advertisement

भारतीय बजारमा प्याजको मूल्यमा वृद्धि भएको कारण नेपाली बजारमा पनि प्याजको भाउ उकालो लागेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘पछिल्लो समय प्याजको मूल्य निरन्तर बढेको छ’, उनले भने, ‘ भारतमा प्याजको मूल्य वृद्धि हुँदा नेपालमा पनि त्यसको असर परेको हो ।’

नेपालमा आत्मनिर्भर हुन नसकेका कारण भारतीय बजारबाट अत्याधिक मात्रमा तरकारी आउने गर्छ । त्यस्तो तरकारीको मूल्य भारतीय बजारमा बढ्दा वित्तीकै नेपालमा पनि बढ्ने र भारतमा घट्दा बित्तीकै नेपालमा पनि घट्ने गर्छ । भारतबाट तरकारी ठूला व्यापारी र बिचौलियाले पनि नेपालको चाडपर्व परेको समयमा बढी मूल्य तोक्ने गरेका छन् । यसले पनि तरकारीको बजार भाउ बढ्न पुगेको हो ।

मूल्यबृद्धिसँगै तिहारको समयमा अखाद्य बस्तुको बिक्री पनि त्यतिकै बढी हुने गरेको उपभोक्त हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए । खासगरी, तिहारमा अत्याधिक खपत हुने मिठाइलगायतका खाद्य बस्तुमा अखाद्य पदार्थ मिसाउने गरिन्छ । यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने उनको भनाइ छ । खाद्य पदार्थको गुणस्तर मापन गर्ने निकाय हुदाँ हुँदै पनि त्यसले प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप बानियाँले लगाए ।

प्रतिक्रिया