त्रिशुली अस्पतालको सेवामा छलाङ, एकै दिन दुई बिरामीको पित्तथैली पत्थरीको शल्यक्रिया
नुवाकोट । ५० वेडमात्रै क्षमता भएको नुवाकोटको त्रिशुलीस्थित त्रिशुली अस्पतालले सेवा विस्तारमा एकपछि अर्को छलाङ मार्न थालेको छ ।
अस्पतालले मात्रै ५० बेडका मोफसलका अस्पतालमा बिरलै हुने पित्तथैलीको पत्थरीको शल्यक्रिया सेवा सुरु गरेको छ । शनिबार अस्पतालका जनरल सर्जन डा. प्रेमप्रकाश पौडेल नेतृत्वको टिमले एकै दिन दुई जना बिरामीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सम्पन्न गरेको हो ।
चिकित्सकहरुको टोलीले एक जना बिरामीको डेढ घण्टा र अर्का बिरामीको सवा एक घण्टामा पित्तथैलीको शल्यक्रिया सम्पन्न गरेको हो । डा. पौडेलकाअनुसार ५९ वर्षीया सुभद्रादेवी घले परिवार र ५५ वर्षीया चन्द्राकुमारी थापा क्षेत्रीको शल्यक्रिया गरिएको हो ।
शल्यक्रिया टिममा डा. सुनिल सन्जेल, एनेस्थेसिया चिकित्सक डा. रिमा खड्का, लक्ष्मण कार्की र नर्सहरु चारु थापामगर, शान्तिमाया तामाङको टोली संलग्न रहेको थियो । ओटी एसिस्टेन्टमा अनिश पाण्डे रहेका थिए । ‘
एक वर्षदेखि अन्य जनरल सर्जरीहरु गरिरहेको थिए,’ सर्जन पौडेलले भने, ‘आज त्रिशुली अस्पतालमा पहिलो पटक दुई जना बिरामीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सम्पन्न गरेका छौं ।’ उनले सबै सिष्टम अद्यावधिक गरिसकिएकाले अब यो शल्यक्रिया सेवा त्रिशुली अस्पतालमा निरन्तर जारी रहनेछ ।
डा. पौडेलकाअनुसार अस्पतालले उपकरण पनि खरिद गरिसकेकाले अब केही समयभित्रै दूरबिनको सहायताबाट त्रिशुली अस्पतालले यस्ता शल्यक्रियाहरु सुरु गर्ने भएको छ । त्रिवि शिक्षण, वीर अस्पतालजस्ता ठूला अस्पतालमा सहज सम्पन्न हुने पित्तथैलीको शल्यक्रिया ५० बेडको मोफसलको अस्पतालमा भने विरलै हुने गर्छ ।
त्रिशुली अस्पतालले हालै इन्डोस्कोपी सेवा पनि सुरु गरेको छ । मंगोलियाबाट सरकारी छात्रवृत्तिमा जनरल सर्जरीमा एमडी गरेर तीन वर्षअघि स्वदेश फर्किएका डा. पौडेलले यसअघि केही समय लुम्बिनी प्रादेशिक अस्पतालमा काम गरेका थिए ।
त्यसयता भने उनी त्रिशुली अस्पतालमा कार्यरत छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया