करोडौँका घर भएका सहरियालाई कौसीखेती गर्न सरकारको १० हजार अनुदान
नुवाकोट । सहरमा करोडौँ पर्ने तीन–चारतले घर छ । कोठा भाडामा लगाएर महिनामै दशौँ हजार बुझ्छन् ।
यिनै सहरियालाई छतमा तरकारी फलाउन भनेर बागमती सरकारले कौसीखेतीका नाममा १० हजार अनुदान बाँडिरहेको छ । र, घरधनीहरू पनि अनुदान हात पार्न लाइन लाग्ने गरेका छन् । जब कि तरकारी खेतीबाटै परिवार पाल्ने सहरी क्षेत्र आसपासका वास्तविक किसान राज्यको अनुदानबाट वञ्चित मात्रै छैनन्, उत्पादनको उचित मूल्यसमेत नपाएर निराश छन् ।
१० हजार अनुदान बुझ्नेमा काठमाडौंको केन्द्र न्युप्लाजा, नयाँ बानेश्वर, बुद्धनगर र थापाथलीमा घर भएकाहरू पनि छन् । काठमाडौं– १० नयाँ बानेश्वरका २५ घरधनीले सागरिका भट्टको नाममा समूह बनाएर १०–१० हजारका दरले दुई लाख ५० हजार अनुदान लिएका छन् । अनुदान प्राप्त गर्न २५ जनाको समूह बनाएर प्रस्ताव लैजानुपर्छ । त्यस्तै, काठमाडौं– ३ बुद्धनगरका घरधनीले पनि नेपाल महिला मैत्री समाज नाममा समूह बनाएर १०–१० हजारका दरले दुई लाख ५० हजार नै लिएका छन् ।
ललितपुरको भिआइपी क्षेत्र भैँसेपाटीमा घर भएकाहरूले पनि अनुदान छाडेका छैनन् । भैँसेपाटीका मञ्जुश्री जागृति महिला समूह, फूलबारी टोल सुधार समिति, गृहिणी कौसीखेती समूहलगायतले अनुदान लिएका छन् । त्यस्तै, भक्तपुर सूर्यविनायकका बृहत्तर कौसीखेती समूह र डोलेश्वर महिला समूहका नाममा दुई लाख ५० हजारका दरले अनुदान वितरण भएको छ ।
यी उदाहरण मात्रै हुन् । काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै यस्ता ६८ समूहका एक हजार ६ सय ९८ घरधनीले ०७६/७७ र ०७७/७८ दुई वर्षमा एक करोड ६९ लाख ८० हजार रुपैयाँ अनुदान लिइसकेका छन् ।
उपत्यकाबाहिर यो कार्यक्रम सञ्चालन भएको एक मात्र जिल्ला चितवनमा दुई आर्थिक वर्षमा चार सय तीन घरधनीले ४० लाख ३० हजार अनुदान पाएका छन् । नर्मदा प्रांगारिक कृषक समूह, आदर्श मार्ग टोल विकास समिति, भगवती टोल विकास समितिलगायतको नाममा अनुदान पाउनेहरू सबै भरतपुर महानगरपालिकाभित्रकै छन् ।
कृषि मन्त्रालयका पूर्वसहसचिव तेजबहादुर सुवेदी लाभ पाउनुपर्ने वर्ग र समूहलाई वञ्चित गराएर करोडौँका घर भएकालाई अनुदान बाँड्नु सही नभएको बताउँछन् । ‘कृषिमा लाभ पाउनुपर्ने वर्ग र समूहलाई हेर्दा यो वर्ग अनुदान पाउनुपर्ने होइन,’ उनले भने, ‘करोडौँको घर बनाउनेलाई १०–२० हजार ठूलो कुरा होइन । खल्तीमा पैसा भएर पनि उपयोग गर्न नजानेकाले सरकारले सिकाएको हो ।’
चालू आर्थिक वर्षमा अनुदान वितरणका लागि भने चारवटै जिल्लाका लाभग्राहीको सूची तयार हुँदै छ । यो वर्षका लागि एक करोड ५५ लाख बजेट विनियोजन भएको छ । कौसीखेतीका नाममा छतमा तरकारी लगाउन बागमती प्रदेश सरकारले ०७६ देखि चार जिल्लामा अनुदान बाँड्न थालेको हो । ०७६/७७ देखि ०७८/७९ सम्म तीन वर्षमा पाँच करोड विनियोजन गरिएको प्रदेश भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजन ढकालले बताए । मन्त्रालयको कृषि विकास निर्देशनालयअन्तर्गत ललितपुर कृषि ज्ञान केन्द्र र चितवन कृषि ज्ञान केन्द्रले अनुदान वितरण गरिरहेका छन् । तत्कालीन प्रदेश कृषिमन्त्री दावा दोर्जे लामाले कौसीखेती अनुदान कार्यक्रम सुरु गरेका हुन् । उनी सहरका हरेक भान्सामा विषादीमुक्त तरकारी तथा फलफूल होस् भनेर यो कार्यक्रम सञ्चालनमा ल्याएको बताउँछन् ।
कौसीखेतीका लागि अनुदान सुरु गर्ने पूर्वमन्त्री दावादोर्जे शेर्पा भन्छन्- सहरका मान्छेको स्वास्थ्य राम्रो होस्, आयु लामो होस् भन्ने कामना हो
‘अहिले हामीले खाने तरकारी तथा फलफूलमा अत्यधिक विषादी हुने गरेको छ । हरेक घरका कौसी तथा बाँझो जमिनमा तरकारी फलाउन सके त यसबाट मुक्त भइन्छ । यही सोचेर कौसीखेतीमा अनुदान दिन सुरु गरेको हो,’ पूर्वमन्त्री लामा भन्छन्, ‘काठमाडौंका मानिसले घरको छत र कौसीमा खेती गर्न थालेका छन् । उनीहरूले स्वस्थबर्धक तरकारी, फलफूल खान पाऊन् । उनीहरूको स्वास्थ्य राम्रो होस्, आयु लामो होस् ।’
आव ०७६/७७ मा दुई करोड ५० लाख बजेट विनियोजन भएको थियो । उपत्यकाका तीन जिल्लालाई दुई करोड र चितवनलाई ५० लाख विनियोजन भएको हो । आव ०७७/७८ मा उपत्यकाका तीन जिल्लालाई ७५ लाख र चितवनलाई २० लाख बजेट विनियोजन गरिएको थियो । त्यस्तै, चालू आव ०७८/७९ उपत्यकाका लागि एक करोड ३५ लाख र चितवनका लागि २० लाख बजेट विनियोजन गरिएको छ । उपत्यकाका जिल्ला ललितपुर कृषि ज्ञान केन्द्रअन्तर्गत पर्छन् भने चितवन कृषि ज्ञान केन्द्रअन्तर्गत चितवन र मकवानपुर पर्छन् । तर, मकवानपुरमा कौसीखेती अनुदान कार्यक्रम सुरु भएको छैन ।
काठमाडौं महानगरले पनि दिन्छ अनुदान
काठमाडौं महानगरपालिकाले ८० प्रतिशत अनुदान दिएको छ । गत वर्ष २५ लाख विनियोजन गरेकोमा चालू आर्थिक वर्षमा १६ लाख विनियोजन भएको महानगरका कृषि शाखा प्रमुख हरिबहादुर भण्डारीले बताए । काठमाडौं महानगरपालिकाबाहेक उपत्यकाका विभिन्न स्थानीय तहले पनि आ–आफ्ना नियम बनाएर कौसीखेतीमा अनुदान वितरण गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया