राष्ट्रिय जनगणना सुरू, सात प्रश्न लिएर सुपरिवेक्षक घरदैलोमा
नुवाकोट । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणमा बुधबार सुरु भएको घर तथा घरपरिवार सूचीकरण कार्यमा सात प्रश्न लिएर सुपरिवेक्षक घरदैलो गर्न थालेका छन् ।
केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर देशभरि ८ हजार ५ सय सुपरिवेक्षक खटाइएका छन् । उनीहरूले करिब ७० लाख घरपरिवारका मुलीलाई भेटेर यी प्रश्न सोध्ने छन् । निर्धारित तालिकाअनुसार सूचीकरण कार्य २० दिनभित्र सम्पन्न हुनेछ ।
गणकले सोध्ने पहिलो प्रश्न, ‘तपाईंको परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र अन्य लिङ्गीहरूको संख्या कति छ ?’ भन्ने रहेको छ । यसरी सोधिएको अन्य लिङ्गीअन्तर्गत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय भनेर उल्लेख गर्नुपर्ने छ । त्यसनिम्ति निलहिरा समाजले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका निम्ति देशभरि जनगणना अभियान संचालन गरेको जनाएको छ ।
‘अझै पनि हाम्रो समुदायलाई राज्यबाट पाउनु पर्ने आरक्षण कोटा, नीति, बजेट, कानुन तथा कार्यक्रमहरूको व्यवस्था नहुँदा धेरै समस्या भोग्नु परेको छ,’ समाजले जिल्ला जनगणना कार्यालयहरूमा बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘किनभने नेपालको सर्न्दभमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सही तथ्यांक नभएको हुँदा हामीले पाउने अधिकारबाट बञ्चित छौं । अब हुन गइरहेको २०७८ को जनगणनामा घर मुलीको सूचीमा महिला, पुरुष र अन्य लिङ्गी भनेर समावेश गरिएको हुँदो यो समुदायको सही तथ्याङ्क हासिल गर्न ध्यानाकर्षण गराउन चाहन्छौं ।’
यसैगरी ‘घर वा अन्य प्रकारका घरको प्रयोग कसरी भएको छ ?’ दोस्रो प्रश्न रहेको छ । यसअन्तर्गत व्यक्तिको घर, व्यापार व्यवसाय, सरकारी, शैक्षिक, स्वास्थ्यजन्य, उद्योग तथा कलकारखाना, बैंक तथा वित्तीय संस्था, संस्थागत, होटल तथा लज, गोठ तथा धन्सार र खाली घरहरूको संख्या र प्रयोजन खुलाइने छ ।
यस्तै उपभोग गर्दै गरेको कृषियोग्य जग्गाजमिन र परिवारले पालन गरेको पशुपन्छीहरूको संख्या खुलाइने छ । सम्बन्धित परिवारले सरकारी अनुदानअन्तर्गत आवासीय घर निर्माण गरेको छ/छैन भन्ने उल्लेख गरिने छ । घरका सदस्यमध्ये कति जनाको नाममा बैंक वा वित्तीय संस्थामा खाता रहेको भए/नभएको सोधिने छ ।
परिवारमा प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका व्यक्तिको संख्यासमेत उल्लेख गरिने छ । यसका साथै बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिए/नलिएको समेत खुलाइने छ । आगामी असोज १८ गतेभित्र घर तथा घरपरिवार सूचिकरण सम्पन्न हुनेछ ।
‘विधिवत रूपमा पहिलो चरणको जनगणना कार्यअन्तर्गत घर तथा घरपरिवार सूचिकरण कार्य सुरु भएको छ,’ पहिलो चरणको स्थलगत जनगणनाबारे विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘पहिलो दिन भएकाले के कति काम प्रगति भयो भन्ने मूल्यांकन भएको छैन ।’
विभागले सुपरिवेक्षकलाई घर तथा घरपरिवार सुचिकरण फारम भर्ने, मोबाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घरपरिवार उतार सुचिकरण फारम भर्ने, सामुदायिक प्रश्नावली भर्ने र गणकको अनुगमन गर्ने जिम्मेवारी तोकेको छ ।
दोस्रो चरणमा हुने मुख्य जनगणना कार्य आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र सम्पन्न हुनेछ । त्यसनिम्ति करिब ४० हजार गणक थपिने छन् भने सुपरिवेक्षक र कर्मचारीसमेत साथै रहने जनाइएको छ ।
‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित सुरु भएको जनगणनामा समाजका सबै तहतप्काको सहभागिता जनाउन विभागले विज्ञप्तिमा जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया