उहिलेका डाक्टर भगवान, अहिलेका हाइटेक !

विदुर खबर २०७४ फागुन १० गते ९:२२

१३ माघ, काठमाडौं । छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. एमके पिया आफ्नो पालाका चर्चित डाक्टरमध्ये एक मानिन्छन् । कम औषधि प्रयोग गरेर विरामीको राम्रो जाँच गर्ने डाक्टरहरुको सुचीमा पिया अग्रपंक्तिमा पर्छन् । उनको मान्यता छ, विरामीलाई कम औषधिमै पनि राम्रो उपचार गर्न सकिन्छ ।

Advertisement

डा. पिया चिकित्सा क्षेत्रमा लागेको झण्डै चार दशक भयो । चार दशकमध्ये उनले करिब ३२ वर्ष त छातीसम्बन्धी रोगको उपचारमै बिताए । यस क्रममा उनले नेपालीहरुको स्वास्थ्यमा भएको उथलपुथल नजिकबाटै नियाल्ने राम्रो अवसर पाए ।

सन् १९७५ मा डा. पियाले जब शान्तभवनबाट काम सुरु गरे, त्यसबेला दम निकै कम हुने गर्थ्यो नेपालीहरुमा । हृदयाघातका विरामी खासै देखिँदैनथे ।

Advertisement

डा. पियालाई अहिलेको भन्दा उहिलेको खानपान र रहनसहन राम्रो लाग्छ ।

सन् १९८३/८४ तिर हृदयाघातका विरामी एक दिन बिराएर अस्पतालमा पुग्न थाले । दमका बिरामीहरु दिनहुँजसो अस्पताल पुग्न थाले । वि.सं ०४६ सालमा नेपालमा प्रजातन्त्र आएसँगै सबै कुरा अनियन्त्रित भयो । पेट्रोल, गाडी, खाद्यान्न लगायतका सबै कुरामा प्रजातन्त्र आयो । देशमा आएको प्रजातन्त्रसँगै पछिल्ला १० वर्षमा मानव स्वास्थ्य दिनहुँ घातक बन्दै गएको डा. पियाको अनुभव छ ।

Advertisement

आहा ! त्योबेलाको काठमाडौं !

डा. पियाको परिवार बन्दीपुरबाट चितवनमा बसाइँ सर्‍यो । उनी १० कक्षा पढ्न चितवनबाट काठमाडौ आए । काठमाडौमा उनी क्षेत्रपाटी बसेर लैनचौरस्थित जेपी हाईस्कूलमा पढ्थे ।

त्यसबेला मोबाइल फोनको जमाना थिएन । हरेक मानिसको भेटघाटको स्थल भनेको न्यूरोडको पिपलबोट हुने गथ्र्यो । कुनै साथी भेट्नु परे पिपलबोट पुग्नुपर्थ्यो । त्यसबेला न्यूरोडको पिपलबोटले अफिसियल ल्याण्डमार्ककै रुपमा काम गथ्र्यो । त्यहाँ गएपछि कोही न कोही भेटिएकै हुन्थ्यो ।

प्रत्येक साँझ उनी साथीहरुको जमात लिएर क्षेत्रपाटीबाट पकनाजोल हुँदै लैनचौर पुगेर १० रुपैयाँको चीज खान्थे । त्यतिबेला लैनचौरमा १० ग्राम चीज १० रुपैयाँमा पाइन्थ्यो । त्यही चीज खाँदै उनीहरु हिँडेर न्यूरोडको पिपलबोटसम्म पुग्ने गर्थे । र, फेरि सोही रुट क्षेत्रपाटी र्फकन्थे । यो क्रम दिनहुँजसो चलिरहन्थ्यो ।

त्यो जमानामा काठमाडौंमा गाडीको त्यति धेरै पहुँच थिएन । जसका कारण त्यतिबेलाका मानिस हिँडेरै स्कुल जाने, हिँडेरै कलेज जाने अनि हिँडेरै अफिस जाने गर्थे । डा. पिया सम्झन्छन्- ‘यसले गर्दा शरीरको यति राम्रो एक्सरसाइज हुन्थ्यो कि उनीहरुलाई अरु एक्सरसाइजको आवश्यकता नै पर्दैनथ्यो ।’

प्रतिक्रिया