अब हुलाकले जिल्ला-जिल्लामा राहदानी पुर्‍याउने

विदुर खबर २०७८ भदौ २४ गते २०:४४

नुवाकोट । हुलाक : चिट्ठीपत्र लिने, ल्याउने र लैजाने व्यवस्था गर्ने सरकारी अड्डा । नेपाली बृहत् शब्दकोषले हुलाकलाई यसरी अर्थ्याए पनि अब भने यसले राहदानी ओसारपसारको काम समेत गर्ने भएको छ ।

Advertisement

परराष्ट्र मन्त्रालयले काठमाडाैंमा जारी गर्ने ती राहदानी अर्थात् पासपाेर्ट १ असोजदेखि जिल्ला प्रशासन कार्यालयहरूले हुलाक कार्यालयमार्फत पाउने छन् । समाजमा आएकाे तीव्र डिजिटल परिवर्तनसँगै अब पहिलेझैँ चिट्ठीपत्र ओसारपसार गर्नु नपर्ने भएकाले करिब बेकामे बनेको हुलाकले पनि नयाँ जिम्मेवारी पाउने भएकाे हाे । यसरी हुलाकलाई नयाँ किसिमबाट अघि बढाउने गरी बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

बिहीबार राहदानी विभागका तर्फबाट महानिर्देशक डोरप्रसाद अर्याल र हुलाक सेवा विभाग महानिर्देशक आभा श्रेष्ठ कर्णले जिल्ला प्रशासन कार्यालयहरूले हुलाक कार्यालयबाटै राहदानी बुझ्न सक्ने व्यवस्था मिलाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौता १ असोजदेखि कार्यान्वयन हुने राहदानी विभागका महानिर्देशक अर्यालले बताए ।

Advertisement

उनका अनुसार प्रारम्भिक चरणमा विभागले राहदानी विभागबाट जारी राहदानी पुलिन्दाहरू पूर्व-पश्चिम लोकमार्गमा रहेका हुलाक कार्यालयहरूसम्म ओसारपसार गर्नेछ ।

चालु आर्थिक वर्षको बजेटमा हुलाक सेवालाई पुनर्संरचना गरिने उल्लेख गरिएको छ ।

Advertisement

प्रतिक्रिया