भारतविरुद्धको खेल नेपाली रेफ्रीले संचालन गर्ने

नुवाकोट । नेपाल र भारतबीच तय भएको दुई मैत्रीपूर्ण खेल संचालन नेपाली रेफ्रीले गर्ने भएका छन् ।
नेपाल र भारतबीच बिहिबार पहिलो खेल र आगामी आइतबार दोस्रो मैत्रीपूर्ण खेल हुने कार्यक्रम छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाको निर्देशन अनुसार नेपालका ‘फिफा रेफ्री’ लाई खेल संचालन गर्न दिने निर्णय गरेको हो ।
‘फिफाको निर्देशन अनुसारनै हामीले आफ्नै रेफ्रीलाई खेल संचालन गराउन लागेको हौं, ‘ एन्फा स्रोतले भन्यो ।
सोही अनुसार एन्फाले नेपालमा रहेका फिफा रेफ्रीलाई परीक्षणसमेत गरेको थियो । एन्फाले आफू अन्तर्गत रहेको रेफ्री संघलाई निर्देशन दिएसँगै नवनियुक्त रेफ्री डाइरेक्टर गौतम कौरले ८ रेफ्रीको टेस्ट लिएका हुन् । भारतीय पूर्वरेफ्री समेत रहेका गौतमको आगमन सँगै नेपाली रेफ्रीले पहिलो खेल संचालन गर्न लागेका हुन् ।
एन्फाले मंगलबार अपरान्ह दशरथ रंगशालामा ४ सेन्टर रेफ्री तथा ४ सहायक रेफ्रीको परीक्षण गरेको हो । जहाँ सहभागी ८ रेफ्री नै सफल रहे । हाल नेपालमा १० पुरुष तथा दुई महिला गरी १२ फिफा रेफ्रीको कोटा छ ।
यस पटक रेफ्रीमा नविन्द्र महर्जन, कविन व्यन्जनकार, प्रज्वल क्षेत्री र प्रकाश नाथ श्रेष्ठ रहने छन् । यस्तै सहायक रेफ्रीमा माधव खत्री, सहदेव श्रेष्ठ, विक्रम चौधरी र किशन यादव रहने छन् ।
यसअघि मार्चमा भएको थ्रि नेसन्स कपमा सहायक रेफ्रीको भूमिका निर्वाह गरेका नानी राम थापा र युनाल मल्ल भने मैत्रीपूर्ण खेल बाहिर रहे । रेफ्री र सहायक रेफ्रीसँगै फोर्थ अफिसियल, रेफ्री एसेसर, म्याच कमिस्नरसमेत दुई मैत्रीपूर्ण खेलमा नेपालकै पदाधिकारी रहने छन्।
नेपाल र भारत दुबैले आगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको मालेमा हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपाल र भारतबीच हालसम्म १९ खेल आयोजना भएको छ ।
जसमा भारतले १३ खेल आफ्नो पक्षमा पार्दा ४ खेल बराबर भएको छ । यस्तै नेपालको पक्षमा २ खेल मात्रै रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया